फिलिपिन्समा त्जु ची फाउन्डेसनले चार सय शय्याको अस्पताल निर्माण गर्ने

११ मंसिर काठमाडौं : ताइवानमा मुख्यालय रहेको बौद्ध मानवीय संस्था त्जु ची फाउन्डेसनले फिलिपिन्समा चार सय शय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने भएको छ । स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले संस्थाले फिलिपिन्सको प्रमुख घरजग्गा तथा पूर्वाधार विकास कम्पनी एसएम प्राइम होल्डिङ्ससँग सहकार्य गर्ने सम्झौता गरेको हो । अस्पतालको नाम त्जु ची मेडिकल सेन्टर राखिनेछ । यो अस्पताल राजधानी मनिलानजिकै पासे सहरस्थित एसएम मल अफ एसिया कम्प्लेक्समा निर्माण गरिनेछ ।

परियोजनाअन्तर्गत एसएम प्राइमले अस्पताल निर्माणका लागि समुद्री किनारको बुलेभार्ड क्षेत्रमा १० हजार वर्गमिटर जग्गा उपलब्ध गराउने तथा भवनको डिजाइन र निर्माण व्यवस्थापनमा प्राविधिक सहयोग गर्नेछ । त्यस्तै, त्जु ची फाउन्डेसन फिलिपिन्सले अस्पतालको विकास, व्यवस्थापन तथा सञ्चालनको सम्पूर्ण जिम्मेवारी लिनेछ । १२ तले संरचनामा निर्माण हुने अस्पतालमा आधुनिक चिकित्सा प्रविधि र बिरामीमैत्री उपचार प्रणालीलाई प्राथमिकता दिइने जनाइएको छ ।

निर्माण कार्य आगामी १२ देखि १८ महिनाभित्र सुरु गर्ने तयारी गरिएको छ भने सन् २०३० देखि २०३२ सम्ममा अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । अस्पतालले आर्थिक रूपमा सक्षम तथा विपन्न दुवै वर्गका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । विशेषगरी उपचार खर्च धान्न नसक्ने तथा गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई सहुलियत र आवश्यक आर्थिक सहायता उपलब्ध गराउने लक्ष्य परियोजनाले लिएको छ । यसबाट फिलिपिन्समा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनुपर्ने समस्यामा कमी आउने अपेक्षा गरिएको छ ।

बौद्ध भिक्षुणी धर्ममास्टर चङ येनद्वारा सन् १९६६ मा ताइवानमा स्थापना गरिएको त्जु ची फाउन्डेसनले करुणा, मैत्री र मानव सेवाको बौद्ध दर्शनलाई व्यवहारमा उतार्दै स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा गरिबी निवारणका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले सन् १९९५ मा फिलिपिन्सको बागुइओ सहरबाट पहिलो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यसयता देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ उपचार, शल्यक्रिया तथा औषधि वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्जु ची फाउन्डेसन फिलिपिन्सका प्रमुख कार्यकारी अधिकृत हेनरी युनेजका अनुसार फिलिपिन्समा आफ्नै अस्पताल स्थापना गर्ने सपना संस्थापक धर्ममास्टर चङ येनले लामो समयदेखि देख्दै आएका थिए । एसएम प्राइमसँगको सहकार्यले उक्त सपना साकार पार्ने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उनले बताएका छन् । संस्थाले बिरामीको शारीरिक उपचारसँगै मानवीय संवेदना, सम्मान र करुणालाई समेत स्वास्थ्य सेवाको अभिन्न हिस्सा बनाउने लक्ष्य लिएको छ । बौद्ध दर्शनमा आधारित परोपकार र सेवाभावलाई स्वास्थ्य क्षेत्रमा रूपान्तरण गर्ने यो परियोजनालाई फिलिपिन्समा बौद्ध सामाजिक सेवाको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Share

Related posts

Leave a Comment