प्रदेश नम्बर ३ का सांसद शोभा शाक्य सहित २० जना समूहद्वारा कुसुन्ती नक्खुमा नवनिर्मित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, नख्खुमा महान कथिन चीवरदान सम्पन्न भयो ।
थाईल्याण्डका भिक्षु विमलधम्म महास्थवीरले ३ महिना वर्षावास पूरा गरेको उपलक्ष्यमा उक्त कथिन चीवर दान कार्यक्रम सम्पन्न भएको थियो । उपासक अशोक बज्राचार्यको निवासबाट कथिन चीवर जात्रा गरि विहारमा ल्याइएको थियो ।
कार्यक्रममा सांसद शोभा शाक्यले स्वागत मन्तव्य दिएकी थिइन् । विहारका अध्यक्ष मंगल कृष्ण महर्जनले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका व्यक्तिहरु समेत यस विहारमा ध्यान भावना गर्न आओस् भन्ने हेतुका साथ ध्यान केन्द्र निर्माण गरेको कुरा बताए । साथै यस विहारले उक्त स्थानमा बुद्ध धर्म प्रचार प्रसार गर्न थप योगदान गर्ने कुरा पनि अवगत गराए ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डण्यले चित्तको बारे धर्मदेशना गरेका थिए । कार्यक्रममा विहार निर्माणका लागि आवश्यक चन्दा दान गर्नु भएका दाताहरुलाई विभिन्न राजनितिक व्यक्तित्वहरुले सम्मान प्रदान गरे ।
श्रद्धेय गुणघोष महास्थविरले शील प्रदान गरि शुरु भएको उक्त कार्यक्रममा सांसद शोभा शाक्य लगायत २० जनाको समूहबाट भिक्षु महासंघलाई कथिन चीवर दान गरिएको थियो ।