बौद्ध धर्मगुरु परम पुजनीय क्याब्जे शेछेन राब्ज्याम रिन्पोछेले केही दिन अघि बुद्ध बचनहरुको संग्रह त्रिपिटक अन्तर्गतको भगवती प्रज्ञापारमिता हृदयसूत्रको नेपाली अनुवादको विमोचन गरे । उनले प्रज्ञापामिता सुत्रबारे उपदेश दिँदै बुद्ध धर्म कुनै कल्पना नभई एक विज्ञान भएकोले आज संसार भरी यसको महत्व बुझ्ने तथा अवलम्बन गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बताए । नेपालीहरुले बुद्धधर्मको मर्म बुझेर यसलाई आफ्नो जीवनमा लागु गर्न पनि उनले सुझाव दिए ।
कार्यक्रममा प्रज्ञापारमिता सुत्रको नेपाली भाषामा अनुवाद कार्यमा रु एक लाखदेखि माथि सहयोग गरेका दाताहरुलाई रिन्पोछेबाट अभिनन्दन पनि गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री माननीय धन बहादुर बुढा मगरले नेपाली भाषामा बुद्ध बचनहरु अनुवाद हुनु भनेको सबै नेपालीहरुको लागि गर्वको विषय भएको बताए । कार्यक्रममा सभापति एवं बुद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष अनुवादक टिका शेर्पाले समितिको कामको चर्चा गर्दै यस कार्यमा सबैको सहयोगको अपेक्षा गरे । कार्यक्रमको आयोजना बुद्धवचन अनुवाद समिति नेपालले गरेको थियो ।