एकपटक एक स्थानमा भगवान् बुद्धको धर्मसभा चलिरहेको थियो । बुद्ध ध्यानमग्न अवस्थामा बसेर चिन्तन गरिरहेका थिए । त्यति नै वेला उनको धर्मसभा भइरहेको स्थानको बाहिर उभिएका एक व्यक्ति आक्रोशपूर्वक निकै जोडले चिच्याइरहेका थिए । आज मलाई यस धर्मसभामा बस्ने अनुमति किन दिइएन ? यो कस्तो धर्मसभा हो ? शान्त सभामा उनको क्रोधमिश्रित चर्को बोलीले सभाभवन नै गुञ्जायमान भयो । तर, बुद्धले यसतर्फ कुनै चासो दिएनन् । उनी उसैगरी ध्यानमग्न नै रहे । ती आगन्तुकले पहिलेभन्दा पनि झनै चर्को स्वरमा आफ्नो प्रश्न दोहो¥याए ।
शिष्यहरूले सभामा शान्ति कायम राख्न ती आगन्तुकलाई भित्र आउने अनुमति दिन बुद्धसित अनुरोध गरे । बुद्धले भने– उनी भित्र आएर बस्न योग्य छैनन् । उनी ‘अछुत’ हुन् । बुद्धको यस्तो भनाइ सुनेर शिष्यहरू आश्चर्यमा परे । उनीहरूले भने– हे भगवान् ! हजुरको धर्ममा त जातभातको कुनै स्थान छैन । कोही ठूलो र कोही सानो पनि छैन । फेरि, यो ‘अछुत’ कहाँबाट आयो ?
शिष्यलाई सम्झाउँदै बुद्धले भने– आज यिनी क्रोधमा छन् । क्रोधबाट शान्ति र एकाग्रता भंग हुन्छ । क्रोधित व्यक्तिले हिंसा गर्छ । उसले शारीरिक हिंसा नगरे पनि मानसिक हिंसा अवश्यै गर्छ । कुनै पनि कारण र कुनै पनि प्रकारको हिंसा गर्ने व्यक्ति ‘अछुत’ हो । त्यसैले, क्रोध गर्ने व्यक्तिले एकान्तमा बसेर पश्चात्ताप गर्नु आवश्यक हुन्छ । त्यतिवेला मात्र उसलाई थाहा हुन्छ– अहिंसा नै महान् एवं परम धर्म रहेछ ।

