आचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछेको संक्षिप्त परिचय

आचार्य सार्की शेर्पा
१. पृष्ठभूमि
वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकार्छन् । करिब आठौँ शताब्दीतिर तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवं प्रचार प्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नुभएको थियो । तिब्बतमा उहाँले मन्त्रद्वारा भूत, प्रेत, राक्षस आदिलाई दमन गरी बौद्ध धर्मको रक्षा गर्न कबुल गराएर स्थानीय संरक्षक देवदेवीका रूपमा स्थापित गर्नु भएको थियो । तिब्बतमा विशेषता बौद्ध तन्त्र साधनाको देशना गर्नुका साथै प्रसिद्ध सम्या गोन्पा निर्माण गरी प्राण प्रतिष्ठा (रब्ने) पनि उहाँबाट नै भएको थियो । आचार्य पद्मसम्भवको तिब्बतमा आगमनपश्चात् उत्तर एसियाको हिमाली क्षेत्रमा वज्रयान बौद्ध धर्मको व्यापक प्रचार प्रसार भएको थियो । तत्कालीन तिब्बतका राजा एवम् प्रजाहरू सबै उहाँका शिष्य रहेका थिए । उहाँका अनुयायीहरूमध्ये निधि पति (तेरतोन) ऋद्धि शक्ति सम्पन्न अनुयायीहरू तत्कालीन समय मै नेपालको हिमाली क्षेत्रमा प्रवेश गर्नु भई जगत् हितार्थ अविच्छिन्न रूपमा वज्रयान बौद्ध तन्त्रको त्यस क्षेत्रमा विस्तार गर्नु भएको बौद्ध इतिहासमा पाइन्छ ।

२. नेपालमा गुरु पद्मसम्भव तीर्थ
आचार्य पद्मसम्भवले खोटाङको हलेसी मारातिका गुफामा अभितायुष बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गर्नुभएको थियो । त्यसैगरी उहाँले दक्षिणकाली नगरपालिकाको फर्पिङमा बुद्धत्व प्राप्त गर्नुभएको थियो । त्यस्तै दामनको ऋषेश्वर (छुमिक ज्याङ्छुप), काभ्रे तिमाल (यारी नाग) संखुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङ आदि स्थानमा पनि आचार्य पद्मसम्भवले ध्यान साधना गर्नुभएको भोट वाङ्मयमा उल्लेख गरिएको पाइन्छ । उहाँले भविष्यमा बौद्ध धर्म रक्षा होस् भनी पहाडको गुफाहरूमा कयौँ निधिहरू सञ्चय गरेर राख्नुभएको कुरा उहाँका जीवनी पद्म काथाङ नामक ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

आचार्य सार्की शेर्पा

आचार्य पद्मसम्भवले यस जगतमा आफ्नो काय प्रतिनिधिका रूपमा राख्नु भएका पाँच ओटा मूर्ति (कुछप तेरङ) मध्ये नेपालमा दुई वटा रहेका छन् । हाल उक्त पवित्र मूर्ति नेपालको प्राचीन गोन्पा सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ जुनबेसीमा रहेको टासी थोङ्मोन गोन्पा र मुस्ताङ घरपझोङ गाउँपालिका ५, ढुम्बा, कुछाप तेरङ गोन्पामा रहेका छन् । नेपालमा रहेका आचार्य पद्मसम्भवका पवित्र तीर्थस्थल र पवित्र मूर्तिको दर्शनका लागि विशेष गरी भुटान, भारतको लद्दाख, हिमाञ्चल प्रदेश, सिक्किम र तिब्बतको साथै देश विदेशबाट वार्षिक रूपमा हजारौँ धर्मावलम्बी, श्रद्धालु भक्तजनहरू आउने गर्छन् ।

३. गुरु छेनग्याद् (गुरुका आठ प्रकारका नाम)
आचार्य पद्मसम्भवले प्राणी हितार्थ अनेकौँ कार्य गर्नु भएता पनि विशेष आठ प्रकारका प्रमुख कार्यहरू गर्नु भएको मानिन्छ । उहाँको कार्य लीला अनुसार १.गुरु छोकेदोर्जे २. गुरु शाक्यसिङ्गे, ३. गुरु लोदेनछोग सेद ४. गुरु पद्मसम्भव ५. गुरु पद्मग्लापो ६. गुरु ङिमाहोद् सेर ७. गुरु सेङ्गेडाडोग ८. गुरु दोर्जेडोलोद् आठ प्रकारका नामहरू (गुरु छेनग्याद्) रहेका छन् । आठ प्रकारका नाम अनुसारको उहाँको स्वरूप पनि भिन्न भिन्न रहेका छन् । उहाँलाई तिब्बत तथा हिमाली क्षेत्रका बुद्ध अनुयायीहरूले निर्माण कायका रूपमा मानिन्छ । उहाँको जन्मतिथिको स्मरणमा प्रत्येक महिनाको दशमीमा छेचु पूजा गर्ने गर्दछन् । ठुला ठुला गोन्पाहरूमा वर्षमा एक पटक गुरु छेनग्याद् अर्थात् गुरुका आठ प्रकारका नामअनुसारका विभिन्न प्रकारका रूप धारण गरी नृत्य (छ्याम) गर्ने प्रचलन पनि रहेको छ ।

४. वज्र गुरु मन्त्रको संक्षिप्त अर्थ
गुरु पद्मसम्भवको मन्त्र ‘‘ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ’’ १२ अक्षर रहेका छन् मन्त्रको संक्षिप्त भावार्थ यस प्रकार रहेको छ – हे ! गुरु पद्मसम्भव मलाई तपाईको काय, वाक् र चित्त सम्बन्धी सबै प्रकारका सिद्धिहरू प्रदान गरी दिनुहोस् ।

‘‘ॐ आः हूँ’’ तीन अक्षरले काय, वाक्, र चित्त ‘‘वज्र गुरु पद्म’’ ले गुरु पद्मसम्भव ‘‘सिद्धि ’’ ले अभीष्ट वरदान सामान्य र विशिष्ट गुणहरू र ‘‘हूँ’’ ले मलाई पनि तपाई जस्तै गुणी र शक्तिशाली बनाउनु होस् भन्ने बुझिन्छ ।

‘ॐ आः हूँ’ मन्त्रले गुरु (लामा), इष्टदेव (यिद्म) र डाकिनी (खान्डो) ‘वज्र’ ले परिशुद्ध आदर्श ज्ञान, ‘पद्म’ ले फूल सदृश प्रत्यात्म वेद्य ज्ञान, ‘सिद्धि’ ले विभिन्न कर्म सिद्धि ज्ञान, ‘हूँ’ ले सबै प्रकारका मार्ग फल प्राप्त हुन्छ भन्ने बुझिन्छ । उक्त वज्र गुरु मन्त्र जप गर्दा सबै प्रकारका फलहरू प्राप्त हुन्छ भन्ने विश्वस रहेको छ ।
‘ॐ आः हूँ’ काय वाक र चितको उत्तम सार हो । ‘वज्र’ वज्रकुलको उत्तम सार हो । ‘गुरु’ रत्नकुलको उत्तम सार हो । ‘पद्म’ पद्म कुलको उत्तम सार हो । ‘सिद्धि’ कर्म कुलको उत्तम सार हो र ‘हूँ’ तथागत् बुद्ध कुलका उत्तम सार हो ।

यस प्रकार आचार्य पद्मसम्भवको बाह्र अक्षर मन्त्रको कयौँ यस्ता व्याख्या रहेका छन् । यो ‘‘ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ’’ मन्त्र भारत, नेपाल, भुटान देशका हिमाली क्षेत्रका साथै चीन जापान, मंगोलिया तथा पश्चिमी मूलका महायानी बौद्ध अनुयायीहरूले जप्ने गर्दछन् ।

५. वज्रगुरु मन्त्र जपको लाभ
ध्यान साधना गरी मन्त्र जप गर्द आफ्नो मन (चित्त) शुद्ध भई सबै प्रकारको पुण्य लाभ प्राप्त हुने छ । त्यसैले ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ मन्त्र गुरु पद्मसम्भवका मन्त्रका सार भएकोले यसको जप गर्द हुने लाभ पद्म काथाङमा उल्लेख गरे अनुसार जब आचार्य पद्मसम्भव तिब्बतबाट फर्किने भएपछि राजा ठ्रिस्रोङ देहु चेन, राजकुमार मुतिक चेन्पोलगयात सम्पूर्ण राज परिवार र त्यहाँका जनताहरू एकत्र भएका थिए । बिदाई स्थालमा राजकुमार मुतिक चेन्पोले आचार्य पद्मसम्भवको चरणमा ढोक गर्दै भन्नु भयो, ‘‘आचार्य यसरी फर्किन्नु हुँदा हामी यहाँका सबै राजा प्रजाहरू दुःखी छौँ, हामी सबै तपाई कै अनुयायी हौँ । यस स्थानमा शाक्यमुनि बुद्ध पाल्नु नभएकाले हाम्रो भाग्यको गुरु तपाई नै हुनुहुन्छ । आज तपाईले यहाँ रहेका दुःखी जनसमुदायहरूलाई आफ्नो अन्तिम वचनको धर्मोपदेश दिनुहोस् ।’’ उहाँको अनुरोधलाई स्वीकार गरी आचार्य पद्मसम्भवले ‘‘यस छ लोक (देवता, मनुष्य, असुर, तिर्यक, प्रेत र नरक) हरूमा जहाँ पनि दुःखै दुःख रहेका छन् । दुखबाट कोई पनि मुक्त हुन सकेको छैन । त्यसैले तिमीहरू सबैले गुरु योगको ध्यान गर्नु पर्छ अनि सबै धर्मको सार तत्व हृदय मन्त्र ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ को जप गर्नु पर्दछ ।’’

आचार्य पद्मसम्भवले डाकिनी येशे छोग्यललाई भन्नु भएको थियो । हे कुल पुत्री ! ‘‘वज्र गुरु’’ भनेको म एक जनाको मात्र सार होइन, यो चार तन्त्र इष्टदेव, नौ यान, चौरासी हजार धर्म स्कन्धका सार, सम्पूर्ण त्रिकाल बुद्धका सार, गुरु इष्टदेव, डाकिनी, धर्मपाल आदिका सार यसमा रहेका छन् । उक्त सबैको सार यस (वज्र गुरु) मा रहेको कारण के छ भने, राम्रोसँग सुन्नु होस्, कन्ठस्थ गर्नु होस्, पढानु होस्, लेख्नु होस् भविष्यमा प्राणीहरूलाई देखाउनु होस् ।’’

डाकिनी येशे छोग्यालले भविष्यका अनुयायीहरूको लागि वज्रगुरुको अनुशंसा (लाभ) के छ भनेर आचार्य पद्मसम्भवलाई सोध्दा ‘‘भविष्यमा प्राणीहरूलाई केहि समयको लागि अथवा पूरै जसरी भए पनि लाभ प्राप्त हुन्छ । उपदेश सिद्ध गर्न अनेक उपायहरू छन् जस्तै भू निधि, पानी निधि, गुफा निधि, आकाश निधि आदि धेरै रहेका छन् । नराम्रो युगमा मंगल कार्यहरू सम्पन्न हुने अति गाह्रो हुन्छ । त्यो प्राणीहरूको पुण्य नाश भएको चिन्ह हो । तर पनि त्यति बेला यो वज्र गुरुका सार महातीर्थ, गोन्पा, उच्च पहाड, ठुला ठुला नदीका किनार भूत, प्रते उत्पन्न भएका ठाउँ गुरुका नियम अनुसार चल्ने साधक, शील युक्त सङ्घ, श्रद्धावान व्यक्तिलगायत सबैले बोधिचित्त उत्पाद गरी सय, हजार, लाख, करोड, अरब, खरब जप गर्नले यसबाट असङ्ख्य लाभ प्राप्त भई शक्ति सम्पन्न, सबै दिशामा रोग व्याधि युद्ध आदि नकारात्मक पक्षहरू सबै दूर भई सबैमा सुख शन्ति प्राप्त हुनेछ ।

६. उपसंहार
मन्त्र जप गर्दा शुद्ध मनले गुरु पद्मसम्भवका कार्य लीला, गुणहरूलाई स्मरण गर्दै अटुट श्रद्धा र विश्वासका साथ हृदयदेखि नै गुरु पद्मसम्भवको प्रार्थना गरेमा सबै प्रकारका विघ्न–बाधाहरू समाप्त भई सुख शान्तिका साथै मनोकामना पुरा हुनेछ । त्यसैले हामीले मन्त्र जप गर्दा जहिले पनि आफ्नो मनलाई एकाग्र राखी जुन बुद्ध र बोधिसत्वको मन्त्र जप गर्दछ, उहाँहरूका ज्ञान, गुणहरू स्मरण गर्दै हरेक शब्दलाई शुद्ध उच्चारण गरी प्रत्येक शब्दको अर्थ ध्यानमा राखी मन्त्र जप गर्नु पर्दछ । त्यसो गर्न सके आफ्नो मन शुद्ध हुनुको साथै अन्तत्व गत्व पुण्य सम्भार र ज्ञान सम्भार सम्पन्न भई बुद्धत्व प्राप्त गर्न सकिने छ । भवतु सर्व मङ्गलम् ।

सन्दर्भ ग्रन्थ सूची
१. गुरु पद्म सम्भवका जीवनी पद्म कथाङ
२. नेगी बिष्ट, रोशन लाल, अनुवादक (२००६) अंतराभाव श्रुतविमुक्ति, आर्य पब्लिशिंग हाउस, नई दिल्ली
३. लोजाङ ठिन्ले, तुङ्कार (२००२) तुङ्कार छिग्जो छेमो, टुङ् गोङ बोरिग पेटुन खाङ
४. ञिङमा परम्पराका प्रार्थना पाठ सङ्ग्रह

Share

Related posts