सिद्धार्थनगरका सडकभरी गौतम बुद्धका मूर्तिहरु

चार वर्ष अघिसम्म रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा बुद्ध चिनारीका कुनै कलात्मक वस्तु थिएनन् । अन्यत्र जिल्ला र बाह्य मुलुकबाट आउने पर्यटक लुम्बिनी पुगेपछि मात्रै बुद्धबारे जानकारी पाउँथे । कलात्मक बुद्धमूर्ति देख्थे । अहिले भने अवस्था फेरिएको छ । सिद्धार्थनगरमा पाइला टेक्नेले सुरुमै बुद्धमूर्ति देख्न पाउँछन् । अहिले नगरका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्ने काम भइरहेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हाले । त्यसपछि योजनाबद्ध रुपमा भैरहवालाई बुद्धमय र पर्यटकीय नगर बनाउने अभियान सुरु गरिएको हो । सुरुमा नगरले नीति बनाएर नगरभित्रका घरहरुमा बुद्ध रंग लागउन आह्वान गर्यो । नगरको आह्वान पछि कयौं घरमा बुद्ध रंग लगाइएको छ । गत वर्षदेखि डण्डा खोला छेउमा बुद्ध चिनारीसहितको पर्यटकीय गेट बनाउने काम पनि जारी छ । यो आर्थिक वर्षमा भने नगरका मुख्य सडकमा धमाधम बुद्धमूर्ति राख्ने काम भइरहेको बुद्धमूर्ति उपभोक्ता समितिकाअ अध्यक्ष भरतकुमार पोखरेलले बताए । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने काम जारी छ ।

लुम्बिनी प्रदेश सकार पर्यटन डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट अहिले मूर्ति राख्ने काम भइरहेको हो । अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले बुद्धमूर्ति व्यवस्थापन उपभोक्ता समिति गठन गरेर अंचलपुरदेखि बेलहिया बाइपास सडकसम्म ७१ लाखमा १९ वटा बुद्धमूर्ति राखेको थियो । नगरभित्र ठूल्ठूला उद्योगधन्दा, प्राकृतिक स्रोत छैनन् । यसले गर्दा आन्तरिक आम्दानी निकै थोरै छ । त्यसैले नगरले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए ।

बुद्ध जन्मस्थलको नजिकै रहेकाले पनि सिद्धार्थनगर शान्तिभूमि र पर्यटकीय नगर हो । विगतमा यहाँ खासै पर्यटक लक्षित गतिविधि हुन सकेनन् । सहज अवस्थामा बेलहिया नाका हुँदै लाखौं विदेशी पर्यटक नेपाल भित्रिन्छन् । नाकाबाट आउने पर्यटकले पहिलो पाइल नगरमै टेक्ने भएकाले यहाँ बुद्ध चिनारीका कुनै वस्तु नहुँदा बुद्धभूमि आएकोसमेत थाहा पाउँदैनथे । अहिले बुद्धमूर्ति राख्ने र अन्य बुद्ध चिनारीका गतिविधि बढेपछि पर्यटकले नाकामा आउँदावित्तिकै बुद्धभूमिमा आएको महसुस गर्न सक्नेछन् । यतिमात्रै कोइन्, नगर बुद्धमय बन्दै जाँदा सिद्धार्थनगर, लुम्बिनी र नेपालप्रति पर्यटकको माया समेत थप बढ्ने अपेक्षा गरिएको छ ।

Share

Related posts