चोरिएका बुद्ध सहितका ३ मध्यकालीन मूर्ति नेपाल फिर्ता

नेपालबाट चोरी गरेर अमेरिकाको न्यूयोर्क पु¥याइएका तीन वटा मध्यकालीन मूर्ति काठमाडौं ल्याइएको छ । अमेरिकास्थित नेपाली दूतावासबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा ल्याइएको अप्सरा, बुद्ध र गणेशको मूर्ति बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको हो । तीन वटै मूर्ति अब संग्रहालयमा राखिने छन् ।

नेपाल फर्काइएका तीनै मूर्तिहरु अनुमानित १३ औं, १४ औं र १५ वा १६ औं शताब्दीका छन् । यी मूर्तिहरु कहाँबाट हराएका हुन्, यकिन नभएको मन्त्रालयले जनाएको छ । तर यसमध्ये अप्सराको रंगीन मूर्तियुक्त काठको टुँडाल पनौतीको इन्द्रेश्वर मन्दिरमा रहेका मध्यकालीन टुँडालसँग मिल्दाजुल्दा छन् । त्यसैको आधारमा यसलाई १३ औं शताब्दीको मूर्ति मानिएको छ ।

यी मूर्तिहरु न्यूयोर्कको संग्रहालयमा मूल्य नै तोकेर प्रदर्शनीमा राखिएका थिए । जसमा अप्सराको मूर्तिलाई २५०० डलर, भूमिस्पर्श मुद्रामा बसेका बुद्धको सुनौलो मूर्ति र बसेको गणेशको मूर्तिको मूल्य ५०÷५० हजार अमेरिकी डलर तोकिएको थियो ।

अमेरिकाका विभिन्न संग्रहालयमा मूर्ति रहेको सूचनापछि सन् १९७० मा भएको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथाम सम्बन्धी महासन्धि’को आधारमा पुरातत्व विभागले मूर्तिमाथि आफ्नो दाबी पेश गरेको थियो । महासन्धिको दफा ७ मा राष्ट्रिय कानुनको अधीनमा रही गैरकानुनी रूपमा अर्को मुलुकमा निर्यात गरिएका सांस्कृतिक सम्पत्ति फिर्ता गर्नुपर्ने उल्लेख छ । १४१ राष्ट्रले हस्ताक्षर गरेको यो महासन्धिका पक्ष राष्ट्रले अर्काे मुलुकबाट चोरी भएर वा खरिद गरेर ल्याएको मूर्ति स्रोत मुलुकले फिर्ता गर्न चाहेमा फिर्ता दिनुपर्ने व्यवस्था छ ।

सोही महासन्धिको आधारमा नेपालले आधिकारिक रुपमा मूर्तिमाथि दाबी गरेपछि २०७७ साल चैत १९ गते अमेरिका स्थित कार्यवाहक महावाणिज्य दूत र डिस्ट्रिक एटोर्नी अफिस न्युयोर्कबीच मूर्ति फिर्ताको सम्बन्धमा सम्झौता भएको थियो । पुरातत्व विभागका महानिर्देशक गौतम फिर्ता ल्याइएका मूर्तिहरु अमूल्य भएको बताउँछन् ।

मन्त्रालयका अनुसार यी मूर्ति तथा कलावस्तु तस्करी गर्नै एक व्यक्ति पक्राउ परेका छन् । तस्करीमा संलग्न ती व्यक्तिको पहिचान भने खुलाइएको छैन । उनलाई दक्षिण भारतमा कारागारमा राखिएको छ भने उनलाई अमेरिका सुपूर्दगी गर्ने विषयमा प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ ।

Share

Related posts

Leave a Comment