नेपाल बौद्ध संघको आयोजनामा हेलम्बु क्षेत्रका ३ स्थानमा ३ महिने बौद्ध शिक्षा सम्पन्न

नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रका ३ स्थानमा भइरहेका ३ महिने बौद्ध शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बौद्ध शिक्षा प्रशिक्षण कार्यक्रम एकदमै सफलतापूर्वक र संघले सोचे अनुसार नै भएको कार्यक्रम संयोजक काइला लामाले बताउनु भयो ।

बौद्ध प्रशिक्षण कार्यक्रम बारविसे नगरपालिकाको वडा नं ७, फाल्डुस्थित काग्यू दार्शलिंग गुम्बामा भएको प्रशिक्षण कार्यक्रम ५६ जनाले पुरा गरेको कार्यक्रम संयोजक काइला लामाले जानकारी दिनुभयो । समापन कार्यक्रम गुम्बाका प्रतिनिधि विशाल शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यस्तै अर्को प्रशिक्षण कार्यक्रम भोटेकोशी गाउँपालिका वडा नं ५ गुम्सा टोलमा भएको थियो । थुछ्ये छेक्वो घ्याकतोंग चिन्तोंग गुम्बामा भएको प्रशिक्षण कार्यक्रम ३६ जनाले पुरा गरेका थिए । यस गुम्बामा भएको समापन कार्यक्रमको अध्यक्षता लोप्सांग लामा गर्नु भएको थियो ।

लिसंखु गाउँपालिकामा भएको प्रशिक्षण कार्यक्रम ४७ जनाले पुरा गरेका थिए । टासी साम्फालिंग गुम्बामा भएको प्रशिक्षणको समापन कार्यक्रम लाक्पा दोर्जे लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बौद्ध शिक्षा प्रशिक्षण अन्तर्गत बुद्ध जीवनी, सम्भोटा लिपी, बौद्ध दर्शन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । तीन स्थानका गुम्बामा आयोजित प्रशिक्षण कार्यक्रममा १९१ जनाको सहभागिता रहेको थियो । तर प्रशिक्षण कार्यक्रमको ३ महिने अवधिसम्मको कक्षा १३९ जनाले मात्रै पुरा गरेका थिए । प्रशिक्षणमा सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तीन वटै स्थानमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो छुल्ठ्रिमले गर्नु भएको थियो ।

Share

Related posts

Leave a Comment