बौद्ध धर्ममा पञ्चशीलको अत्यन्तै ठूलो महत्व रहेको छ । बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । अङ्गुत्तरनिकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा यी शीलहरुका वर्णन गरिएका छन् । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ ।
सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापदं भनिएको १० वटा शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशीललाई बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वारको रुपमा लिइन्छ । यस अनुसार बुद्धको मार्गमा हिंड्नको लागि प्राणीहिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पतिरपत्नी बाहेक अरुसंग नलाग्ने (भिक्षुहरुले चाहिं कोहीसंग पनि व्यभिचार नगर्ने) प्रण गर्ने गरिन्छ ।
पञ्चशीलको चाखलाग्दो र अनौठो कुरा के छ भने यस पाठमा कुनै पनि ठाउँमा आफ्नो पुरानो धर्म त्याग्ने वा अरु धर्म छोड्ने विधि लेखिएको छैन । साथै, यी नियमहरु पालना नगरेमा ईश्वर वा कुनै भौतिक शक्तिद्वारा दण्डित गर्ने (वा नर्कमा जाने) पनि उल्लेख गरिएको छैन । धर्म पालना नितान्त व्यक्तिगत रुपमा छोडिएको छ । अतः, बुद्ध धर्म फैलिएका ठाउँमा बुद्ध धर्म भन्दा पहिलेका विश्वासहरुलाई पनि देख्न सकिन्छ। जस्तैः तिब्बती बौद्ध धर्ममा बोन संस्कृति, दक्षिण तथा दक्षिण पूर्वी एसियाली बुद्ध धर्ममा हिन्दू संस्कृति, जापानमा शिन्तो, चीनमा ताओ र कन्फ्युसियस संस्कृति बुद्ध धर्म संगै गांसिएको देखिन्छ । यसो हुनुमा पञ्चशीलको उदारता एउटा कारण हो ।

