नेपाल बौद्ध ञिङमा संघको आयोजनामा पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमा (पौष ६ देखि १० गते) सम्म पाँच दिन १४ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ । नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको भए तापनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएको हुँदा आठौँ मोन्लमदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा आयोजना गर्दै आएको छ ।
विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपोनहरूको साथै उपासक उपसिकाहरुको सहभागितामा हुने मोन्लम पूजापाठमा विश्वमै कुनै पनि प्रकारको रोग व्याधि, युद्ध, कलह र प्राकृतिक प्रकोप आदि विघ्न बाधा नभई दिगो शान्ति, सुख, समृद्धिको कामना गर्दै मोन्लम पाठ गर्ने गरिन्छ । यसको साथै बुद्धभूमि नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचारप्रसार एवम् धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको साथै नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि यो मोन्लाम कार्यक्रम आयोजना गरिएको हो ।
दैनिक विहान ७ः३० देखि अपह्रान ४ बजेसम्म हुने पाठपूजा कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिदैछ ।
व्यक्तिगत स्वार्थ र खुशीको सानो परिधिबाटमाथि उठेर समस्त प्राणीहरूको हितार्थ बौद्धमार्गीहरूले सामूहिक रूपमा सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र संवृद्धिको कामना गर्दै बौद्ध भिक्षु, श्रामणेर, श्रामणेरिका, उपासक, उपसिकाहरूले लामबद्ध रूपमा मोन्लम मन्त्र पाठ गरिरहेका छन् । पूजा स्थलमा रंगीचंगी विभिन्न आकारमा निर्माण गरिएको तोर्माको साथै निर्मल जलले सजाइएको छ । आफुले मन्त्र पाठ गर्न नआए पनि रिन्पोछेज्यूहरूको दर्शन र लामाहरूले सामूहिक रुपमा पाठ गरेको देख्न र सुन्न मात्र पाएपनि आफुलाई मनमा शान्ति भएको पूजामा उपस्थित श्रद्धालु भक्तजनहरूको भनाई रहेको छ ।
पाठपूजा मोन्लम कार्यक्रममा विशिष्ठ धर्म गुरु परम श्रद्धेय टुल्कु रिग्जीन पेमा रिन्पोछे, परम श्रद्धेय खेन्पो साङग्या राङज्यूङ रिन्पोछे, परम पूज्य गेटक परम पूज्य टुल्कु ङवाङ थरछिन रिन्पोछे आदिको साथै विभिन्न जिल्लका गोन्पाहरूबाट हजारौँ बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको साथै उपसक, उपसिकाहरूको व्यापक उपस्थिति रहेको छ ।
पाँच दिनसम्म आयोजना हुने मोन्लाम कार्यक्रममा विभिन्न संघ–संस्थाहरूबाट स्वयं सेवाहरूले निस्वार्थ रुपमा सरसफाईदेखि लिएर मोन्लममा उपस्थित भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिका र श्रद्धालु भक्तजनहरूलाई चिया, खाजा, खाना अदि वितरण गर्ने कार्यमा साथ दिई रहेका छन् ।
मोन्लमको आकर्षण
मोन्लममा सोमवार र मंगलवार विशेष दिन रहेको छ । ती दुई दिन कनकमणि बुद्ध, शाक्य बुद्ध र सारिपुत्रको अस्थि धातु प्रदर्शनी गरिने भएको छ । बौद्ध धर्मका अत्यन्तै महत्वपूर्ण दुई बुद्ध र अतुलनीय बौद्ध साधक सारीपुत्रको अस्थि धातुको दर्शन गर्ने अवसरलाई बौद्ध धर्ममा दुर्लभ र ठूलो पूण्यको कार्य हुने भिक्षु आङफुरी शेर्पाले बताउनु भयो ।
बुद्धको मार्गका धेरै भिक्षु र बौद्ध साधकको उल्लेख बौद्ध ग्रन्थ तथा साहित्यमा पाइन्छ । त्यसमध्ये बुद्ध पछि सबैभन्दा इज्जतसाथ उल्लेख हुने व्यक्तित्वमा सारीपुत्रको नाम आउँछ । सारीपुत्रलाई बुद्ध स्वयम्ले बुद्ध धर्मको सेनापति उपाधि दिनु भएको थियो ।