लुम्बिनीमा पर्यटकको चहलपहल छैन उत्साहजनक

यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक आगमन उत्साहबर्द्धक देखिएको छ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै तंग्रिँदै गएको छ । तर, पूर्ववतःअवस्थामा भने अझै फर्किइ सकेको छैन । तथापी सन् २०२३ मा लुम्बिनीमा आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन भने पछिल्लो चार वर्ष यताकै उच्च छ । यसले लुम्बिनी क्षेत्रको पर्यटन पूरानै लयमा फर्किने अपेक्षा बढाएको छ ।

सन् २०१९ मा लुम्बिनीमा १५ लाख ५८ हजार ३२६ पर्यटक आएर नयाँ रेकर्ड कायम भएको थियो । तर, यसबीचमा दुई वर्ष कोरोना महामारीले पर्यटकको संख्या ह्यात्तै घट्यो । त्यस यता २०२२ बाट लयमा फर्किरहेको लुम्बिनीको पर्यटन क्षेत्र तंग्रिन भने अझै समय लाग्ने देखिन्छ । लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०२३ मा आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरि ९ लाख ९८ हजार ९३८ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यो पछिल्लो चार वर्षको आँकाडामा राम्रो तथ्यांक हो । अहिले लुम्बिनीमा आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकको आगमन राम्रो छ । तर, भारत बाहेक आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन पुरानै अवस्थामा फर्किन भने सकेको छैन । खासगरी मुलुकमा देखिएको आर्थिक मन्दी, भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई भारतीय टूरगाइडले लुम्बिनीलाई प्राथकितामा नराख्नु, सीमा क्षेत्रमा झन्झटिलो व्यवस्थाले समेत प्रभाव पारिरहेको लुम्बिनी विकास कोषका सुचना अधिकृत राजन बस्नेतले बताए ।

सन् २०२३ मा लुम्बिनीमा भारतीय पर्यटकको आगमनको भने नयाँ रेकर्ड बनेको छ । २ लाख ६६ हजार ५१० भारतीय २०२३ मा लुम्बिनी घुमेका छन् । यस्तै, तेस्रो मुलुकका ७६ हजार २१० पर्यटक लुम्बिनी घुमेका छन् भने स्वदेशी ६ लाख ५६ हजार २१८ ले लुम्बिनी घुमफिर गरेका छन् । यो तथ्यांक पछिल्लो चार वर्षको सर्वाधिक संख्या हो । पछिल्ला वर्षमा पर्यटक आगमन सुधार हुँदै गएपनि नेपाली र भारतीयलाई छोडेर तेस्रो मुलुकका खर्चालु पर्यटक आगमन भने राम्रो छैन । यससँगै लुम्बिनी बसाईं अवधि अझै बढ्न सकेको छैन । यसबाट व्यवसायीले भने खासै फाइदा लिन सकेका छैनन् ।

पर्यटकको संख्या बढ्दै गएको तथ्यांक भएपनि काठमाडौं, पोखरा, चितवन आउने आन्तरिक र तेस्रो मुलुकका पर्यटक सडककै कारण लुम्बिनी पुग्न सकेका छैनन् । पछिल्लो समय जथाभावी सडक संजाल भत्काउने र लथालिंग छाड्ने गर्दा पनि पर्यटक आगमन प्रभावित भएको देखिन्छ । यि र यस्ता पक्ष सुधारमा ध्यान दिए लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य हुनेमा कुनै शंका छैन ।

Share

Related posts

Leave a Comment