नेपाल प्राचीन समयदेखि नै बौद्धधर्म, शिक्षा, संस्कृति र सभ्यताको केन्द्रको रुपमा रहेको छ । नेपालका विभिन्न स्थानहरुमा बौद्धमार्गीको पवित्र एवं प्रसिद्ध ऐतिहासिक तीर्थस्थलहरु रही आएका छन् । प्रचलित बौद्ध मत तथा केही वंशवालीहरुमा शाक्यमुनि गौतम बुद्ध अगाडिका महा मानव बुद्धहरु विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वम्भु बुद्ध र क्रकुछन्द बुद्ध आदिसँग स्वयम्भूनाथको प्रसंग जोडिएको पाइन्छ । प्रथम महामानव बुद्ध विपश्वीले नागदहमा एक कमलको वीज रोपे र सो बीजबाट कमलको फूल उत्पन्न भएर त्यही स्वयम्भू अवतरित भए । त्यही स्वयम्भू महाचैत्याको निर्माण भएको स्वयम्भु पुराणको कथनमा पाइन्छ ।
१) ककुसन्ध बुद्ध
ककुसन्ध पाली भाषामा र संस्कृतमा क्रकुच्छंद बुद्ध थेरवादी परम्परा अनुसार अहिलेको कल्प (भद्रकल्प) का पहिला बुद्ध हुन् । यो कल्पमा पाँच बुद्ध हुने मानिन्छ । त्यसमध्ये पहिलो ककुसन्ध हुन् भने चौथो गौतम बुद्ध हुन्। पाँचौँ आउनेवाला बुद्ध चाहिँ मैत्रेय बुद्ध।
ककुसन्ध बुद्धको जन्म खेमावतीमा भएको हो। खेमावतीलाई गोटीहवा नामले अहिले चिनिन्छ। यो नेपालको कपिलवस्तुबाट चार किलोमिटर दक्षिणपूर्वमा पर्छ। लुम्बिनी आउँदा सम्राट अशोक गोटीहवा पनि गएका थिए। त्यहाँ पनि उनले पिलर गाडेका थिए। गोटीहवामा स्तुप पनि छ।
पाली परम्परामा ककुसन्ध २२ औँ बुद्ध हुन्। उनका पिता अग्गिदत्त खेमावतीका राजा खेमंकरका ब्राह्मण पुरोहित थिए। उनकी आमाको नाम विशाखा र पत्नीको नाम विरोचमना र छोराको नाम उत्तर थियो।
चार हजार वर्षको आयुमा एउटा रथमा चढेर उनले सांसारिक जीवन परित्याग गरेको मानिन्छ। शिरीष वृक्षमुनि उनलाई ज्ञान प्राप्त भएको र प्रथम उपदेश मकिला नजिकको एउटा बगैँचामा ८४ हजार भिक्षुलाई दिएको भनिन्छ।
२) कोनागमन बुद्ध
कोनागमन बुद्ध यो कल्पका दोस्रो बुद्ध हुन्। पालीमा कोणागमन भनिए पनि संस्कृतमा कनकमुणि, कोणागन, कनकगामना पनि भनिन्छ। थेरवादी परम्परा अनुसार उनी २६ औँ बुद्ध हुन्। सोभवती नगरमा यज्ञदत्त ब्राहृमणकी भार्या उत्तराको कोखमा सुभगवती उद्यानमा उनको जन्म भएको हो। कपिलवस्नु जिल्लाको सदरमुकाम तौलिहवादेखि ७/८ कि. मि. उत्तरमा पर्ने निग्लिहवा गाउँमा पनि अभिलेखसहितको अशोक स्तम्भ रहेको छ । यो कनकमुनि (कोनागमन) बुद्धसँग सम्वन्धित रहेको छ।
३) गौतम बुद्ध
बुद्ध भन्ने बित्तिकै धेरैले बुझ्ने चाहिँ गौतम बुद्ध नै हुन्। कपिलवस्तुको राजपरिवारमा २५६४ वर्षअघि राजकुमार भई जन्मिएका सिद्धार्थ गौतमले आफ्नै प्रयासबाट बुद्धत्व प्राप्त गरे। अनि बाँचुन्जेल यसको सबैको कल्याणका लागि आफूले पाएको ज्ञान बाँडे। उनको जन्म लुम्बिनीमा भएको थियो।

