न्युयोर्कमा बिश्व शान्तिको लागि पहिलोपटक चार दिने वज्रगुरु जप हुँदै

शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलोपल्ट एकलाख वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गर्ने भएको छ । महायानी बौद्धमार्गीबीच दोस्रो बुद्ध भगवान मानिने पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाँचौं महिना) दशमीको अवसर पारेर उक्त समारोह आयोजना गर्न लागिएको हो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे आउने शेर्पा किदुग, अमेरिकाका अध्यक्ष उगेन शेर्पाले बताए ।

आगामी जुलाई ११ देखि १४ तारीख सम्म शेर्पा किदुगमा आयोजना हुने कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले मन्त्र जप गर्नेछन् । बज्रगुरु जप सम्पन्न गराउन एक समारोह समिति नै गठन गरिएको छ । समितिमा आवद्ध भई कार्यक्रम सम्पन्न गराउन इच्छुकले शेर्पा किदुगमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया आदि हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको बारेमा भगवान गौतम बुद्ध स्वयंले आफ्नो जीवनको अन्तिम समयमा भविष्यवाणी गर्नुभएको थियो । भगवान बुद्धले परिनिर्वाण सुत्रमा भन्नु भएको छ “निकट भविष्यमा म ध्यानकोष नामक तालको बीचमा कमलको फूलबाट निर्माण कार्यको रुपमा पुनर्जन्म लिने छु, उक्त निर्माणकार्य म भन्दा धेरै शक्तिशाली हुनेछ । त्यति बेला म गुह्य मन्त्रको धर्म देशना गर्ने छु ।” सोही भविष्यवाणी अनुसार आठौँ शताब्दीताका वर्तमान अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने उड्डियानको धानकोष तालको बीचमा चमत्कारिक कमलको फूलबाट गुरु पद्मसंभवको जन्म भएको धार्मिम विश्वास रहँदै आएको छ ।

गुरु पद्मशम्भवले वज्रयान तन्त्रको धर्म देशना गर्नुभयो जुन आज संसारभर फैलिएको छ । उनै गुरु पद्मसंभवलाई आव्हान गरी जपिने वज्रगुरु मन्त्रको महिमा अपरम्पार छ ।

वज्र गुरुको जप ध्यान गर्दा हुने फाईदाहरु ग्रन्थमा यस प्रकारले उल्लेख गरिएको छः स्वच्छ बोधिचित्त उत्पन्न गरी यो मन्त्र जप गरेमा सम्पूर्ण अकुशल कर्मका दोषहरु हट्ने छन् । जन्म, जरा, ब्याधि र मरणको भयबाट मुक्त हुनेछ । समाजमा सुब्यवस्था कायम हुनेछ । रोग र भोखमरी हट्ने छन् । झैझगडा र कलहहरु शान्त हुने छन् । युद्धहरुमा बिराम लाग्नेछन् । विश्वमा दिगो शान्ति र अमन चयन कायम विश्वास गरिन्छ ।

Share

Related posts