सम्राट अशोक प्राचीन भारतका शक्तिशाली शासक तथा मौर्य साम्राज्यका तेस्रो सम्राट थिए । उनी ईसापूर्व तेस्रो शताब्दीमा शासनमा आएका थिए । प्रारम्भिक जीवनमा अशोक एक महत्वाकांक्षी र युद्धप्रिय शासकका रूपमा परिचित थिए । तर ईसापूर्व २६१ तिर भएको कलिङ युद्धले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । युद्धमा हजारौं मानिसको मृत्यु र विस्थापन भएको दृश्यले उनलाई गहिरो पश्चात्ताप गरायो। त्यसपछि उनले हिंसाको मार्ग त्यागेर बौद्ध धर्म अंगाले ।
बौद्ध धर्म ग्रहण गरेपछि अशोकले शान्ति, अहिंसा, सहिष्णुता र नैतिक जीवनका सिद्धान्तलाई राज्य सञ्चालनको आधार बनाए । उनले बौद्ध धर्मको प्रचार–प्रसारलाई विशेष प्राथमिकता दिए । अशोकले आफ्ना सन्देशहरू ढुंगाका स्तम्भ र शिलालेखमा लेखाएर जनतासम्म पु¥याए । यी शिलालेखहरू आज पनि बौद्ध इतिहासका महत्वपूर्ण स्रोत मानिन्छन् ।
अशोकको पहलमा बौद्ध धर्म भारतका विभिन्न क्षेत्रमा मात्र सीमित रहेन, विदेशसम्म फैलियो। उनले धर्मदूतहरूलाई श्रीलंका, नेपाल, अफगानिस्तान तथा मध्य एशियाका विभिन्न क्षेत्रमा पठाएका थिए । विशेष गरी उनका पुत्र महिन्दा र पुत्री संघमित्ताले श्रीलंकामा बौद्ध धर्मको विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
अशोकले स्तूप, विहार तथा अन्य धार्मिक संरचनाहरू निर्माण गरी बौद्ध सम्पदाको संरक्षणमा योगदान पु¥याए । उनको शासनकाललाई बौद्ध धर्मको स्वर्णयुगका रूपमा पनि हेर्ने गरिन्छ । अशोकको प्रयासका कारण बौद्ध धर्म एक क्षेत्रीय धार्मिक आन्दोलनबाट अन्तर्राष्ट्रिय धर्मका रूपमा विकसित भयो । आज एशियाका धेरै देशमा बौद्ध धर्मको प्रभाव देखिनुमा सम्राट अशोकको योगदान महत्वपूर्ण मानिन्छ । उनका नीति र आदर्शहरू शान्ति, मानवता र धार्मिक सहिष्णुताका उदाहरणका रूपमा आज पनि स्मरण गरिन्छन् ।


