१० दिने शाक्यमोन्लन लुम्बिनीमा सम्पन्न, हजारौं सहभागि

बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित ३३औँ १०दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ । यस क्रममा विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार लामा, भिक्षु, आनी, रिन्पोछे तथा बुद्धका अनुयायीले पूजा गरेका हुन् । प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिरपरिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आकर्षित भएका थिए ।

२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षपछि २३ मंसिरदेखि सुरु भएको थियो । लुम्बिनी विकास कोषको पहलमा ४१औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो ।

१० दिने मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितिमा समापन गरिएको हो । ४१ औँ शाक्य ट्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सिर्जना गरेको छ । कोषका उपाध्यक्ष डा. लामाले शाक्य ट्रिछेन रिन्पोछे गुरुको उपस्थितिमा लुम्बिनीमा हजारौँ लामा, भिक्षु, उपासक उपासिकाहरू सहभागी भएर मोन्लम पूजा हुनु निकै ठुलो गौरव भएको बताए ।

Share

Related posts