बसन्त महर्जन
बौद्धहरु आफ्नो दैनिक जीवनमा पञ्चशीलको पालनामा जोड दिन्छन् । पाँच वटा शीलमध्ये पहिलो कसैको हत्याहिंसा नगर्ने प्रण हो । यसको अर्थ, बौद्ध मार्गमा लागेका कुनै पनि व्यक्ति सबै प्रकारका प्राणीको हत्याहिंसाबाट विरक्त भएका हुन्छन् । बौद्ध धर्मसँग सम्बन्धित सबै स्थलहरुमा कुनै पनि बहानाबाजीमा यस्तो गतिविधि हुँदैन । तर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हत्याहिंसा ? त्यो अरु ठाउँमा होइन, बोधिसत्व सिद्धार्थलाई माता मायादेवीले जन्म दिइरहेको मूर्तिमा नै लक्षित गरी पशुपंक्षीहरुको बलि ? आजभोलि यो कुरा सुन्दा पनि पत्याउन नै गा¥हो हुन्छ र कुरा सुन्दैमा जीउ जिरिङ्ग भएर आउँछ । तर कुरा सही हो ।
नेपालको बाटो भई तिब्बतको यात्रा गर्न आएका जापानी भिक्षु इकाइ कावागुचि सन् १९१२ मा लुम्बिनी पनि पुगेका थिए । यो उनको तेस्रौं पटकको नेपाल भ्रमणको अवसरमा भएको हो । यसलाई लुम्बिनी भेटिएको सालभन्दा सोह्र वर्षपछि पनि भन्न सकिन्छ । बौद्ध ग्रन्थ त्रिपिटकको ‘दीघनिकाय’ मा स्वयं तथागतबाट महापरिनिर्वाणपछि जन्मस्थल, बोधिलाभस्थल, धर्मचक्रप्रवत्र्तनस्थल र महापरिनिर्वाणस्थल गरी चार वटा ठाउँ संवेजनीय हुने कुरा व्यक्ति भएको थियो । सोअनुसार महापरिनिर्वाणपछि बुद्धका अनुयायीहरु यी चार ठाउँको तीर्थ गर्ने र ध्यानभावना गरी संवेजनाको अनुभूति गर्दथे । यहीअनुसार लुम्बिनीमा तीर्थ गर्न जाने परम्परा बस्यो । इस्वीपूर्व तेस्रो शताब्दीमा भएको मौर्य सम्राट अशोकको लुम्बिनी आगमन प्रसिद्ध छ । उनले तीर्थयात्रा मात्रै गरेनन्, जन्मस्थल चिनाउन अशोकस्तम्भ स्तम्भन गरी त्यसमा महत्वपूर्ण अभिलेख पनि कुँदाए । साथै, केही निर्माण कार्य पनि गरे । यसरी निर्माण कार्य गर्ने पहिलो व्यक्ति भने उनी थिएनन् । पूर्वमौर्य कालको निर्माण संरचना पनि त्यहाँ भेटिनु यसको प्रमाण हो । अशोकपछि त्यहाँ को को आए को को गए भन्ने विस्तृत विवरण खासै पाइँदैन तर त्यसका केही अवशेषहरु अझै पनि पुरातात्विक प्रमाणका रुपमा छन् । समय र परिस्थिति सँधै उस्तै रहेन र क्रमशः लुम्बिनीमा तीर्थ गर्न जाने क्रम विस्तारै घट्न थाल्यो । इस्वीको अठारौं–उन्नाइसौं शताब्दीसम्म पुग्दा त लुम्बिनी कहाँ पर्दछ भन्ने कुरा नै बिर्सन थाले । खोजीकै विषय बन्यो ।

यस्तै अवस्थामा सन् १८९५ मा प्राचीन कपिलवस्तुस्थित निगलीसागरको किनारमा कनकमुनि बुद्धसँग सम्बन्धित अशोकस्तम्भ र स्तूप फेला पार्ने काम पुरातत्वविद् डा. ए. फुहररबाट भयो । यही प्राप्तीको आधारमा गौतम बुद्धको जन्मस्थल त्यसभन्दा पूर्वमा हुनुपर्ने हिसावकिताब गर्दै वर्तमान लुम्बिनी आइपुगे । त्यहाँ त्यति बेला जंगलभित्र रुख काट्न खटिएका मजदूरहरु ढुंगाको खम्बा भेटिएर अचम्म मान्दै त्यसलाई उखेल्न खोज्दै थिए । पुरातत्वविद्ले उक्त खम्बालाई तुरुन्तै चिनी हाले र उखेल्ने काम रोक्न लगाएर त्यसमा रहेको अभिलेख उतार लिए । यही त्यो अशोक स्तम्भ हो र उनले उतार लिएको अभिलेखकै आधारमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी भेटिएको समाचार संसारभर फैलियो । त्यस उप्रान्त अनेक ठाउँबाट लुम्बिनी पुग्ने, हेर्ने र जन्मस्थल पुगेकोमा गौरवान्वित हुन थाले । यसरी जाने क्रममा सर्वसाधारणहरु मात्रै नभएर सम्बन्धित क्षेत्रका विज्ञहरु पनि हुन्थे ।
यसै क्रममा विद्वान डा. ह्वे ले अशोक स्तम्भभन्दा पूर्व माटोको ढिस्कोमाथि रहेको सानो टहराभित्र बोधिसत्व सिद्धार्थलाई जन्म दिइराखेको माता मायादेवीको मूर्तिको पहिचान गरे । लुम्बिनी भेटिएको सोह्र वर्षपछि इकाइ कावागुचि पुगेका थिए । उनी त्यहाँ पुग्दा उक्त मूर्तिमा स्थानिय मान्छेहरु पशुपंक्षीको बलि दिइरहेका थिए । बौद्ध स्थलमा यस्तो हत्याहिंसाको दृष्य देख्नु पर्दा भिक्षु कावागुचि दुःखी हुनु स्वाभाविक हो ।
लुम्बिनीमा विभिन्न समयमा भएका निर्माण गतिविधिमा एउटा यही मूर्ति पनि थियो । लुम्बिनीमा तीर्थ गर्न आएका चिनियाँ यात्री सेङसाईको चौथौं शताब्दीतिरको यात्राविवरण ‘सुइ–चिंग–चु’ अनुसार अशोक–वृक्षको हाँगा समाएकी मायादेवीको मूर्ति रुखमुनि थियो । यसले यो मूर्ति त्यसभन्दा अघि नै विद्यमान थियो भन्ने जनाउँछ । तर विस्मृतिको गर्भमा पुरिने क्रममा लुम्बिनीको नाम नै अपभ्रंश भई ‘रुम्मिनीदेइ’ हुनपुग्यो । अनि मायादेवीको मूर्ति पनि भग्न भइसकेको अवस्था थियो । यो मूर्तिलाई चिन्न नसकेरे मान्छेहरुले वनदेवी रुम्मिनदेई मानेर पूजा गर्न थालेका थिए । पशु बलि दिएर पूजा गर्दा देवी खुसी हुन्छिन् भनेर आआफ्नो आस्था र गच्छेअनुसार पशुपंक्षीहरको बलि चढाउन थालेका हुन् ।
कावागुचिको लुम्बिनी बसाई केही दिनको मात्र थियो । यो बेला उनी एक्लै नभएर अन्य केही जापानीलाई पनि साथमा लिएर लुम्बिनी पुगेका थिए । गाउँलेहरुलाई मायादेवीको मूर्तिमा बलि दिनु हुँदैन भनेर बुझाउन सक्ने अवस्था थिएन । स्थानीय जनता बौद्ध थिएनन् र बौद्ध धर्ममा के गर्नु हुन्छ वा के गर्नु हुँदैन भन्ने जानकारी पनि थिएनन् । बुद्धको जन्मअंकित मूर्तिमा यसरी पशु बलि हेरेर बस्न सक्ने अवस्था पनि थिएन । उनी काठमाडौं आएर तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री चन्द्रसमशेरलाई भेटी लुम्बिनीको यथार्थ विवरण जाहेर गरे । र, मूर्तिमा पशुबलिको कुरामा दुखेसो पोख्दै यस्तो गतिविधि रोक्न आग्रह पनि गरे । यो आग्रहलाई सुनी, सन् १९१४ मा हुकुमी आदेशबाट बुद्धजन्म अंकित मायादेवीको मूर्तिमा पशु बलि दिने कार्य रोक्न लगाए । त्यति बेलाका शासकहरु जनताको आवाज सुन्दैन थिए वा स्वयं नेपालीहरुमा नै पनि यस स्तरको चेतना आइसकेको थिएन । यस अवस्थामा कावागुचिले लुम्बिनीका लागि शासकसमक्ष यति आग्रह गर्नु पनि निकै ठुलो कुरा थियो ।
लुम्बिनीको विकास र निर्माणमा जापानी बौद्ध समाजको ठुलो योगदान रहेको कुरामा बिर्सन सकिन्न । सन् १९६७ अप्रिल २३ का दिन संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गरेका थिए र यस क्षेत्रको विकासमा विशेष ध्यान दिई संयुक्त राष्ट्« संघभित्र लुम्बिनी विकाससम्बन्धी एउटा अन्तर्राष्ट्रिय समिति गठन गरेका थिए । समितिले लुम्बिनीको विकासका लागि एउटा गुरुयोजना तयार पार्ने जिम्मा प्रख्यात वास्तुविद् प्रो. केन्जो तांगेलाई दियो । उनले बर्षौं लगाएर विस्तृत गुरुयोजना बनाए र सोही योजनाअनुरुप आज भव्य रुपमा निर्माण कार्य भइरहेको छ । लुम्बिनीमा जापानबाट अन्य विकास निर्माणमा मात्रै काम भएको छैन, पुरातात्विक उत्खननमा समेत ठुलो आर्थिक सहयोग रहेको छ । लुम्बिनीमा जापानका यी योगदानहरुको सुरुवात भिक्षु इकाइ कावागुचिबाट भएको थियो । यस मामिलामा उनको लुम्बिनी आगमन एउटा कोशेढुंगा नै भएको छ ।