आजदेखि लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्न लागेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा हुने यो गोष्ठी आज र भोलीसम्म चल्नेछ ।
नेपालसहित श्रीलंका, थाइल्याण्ड, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, पोर्चुगल, फान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसका लागि विभिन्न देशका विज्ञहरु लुम्बिनी आइसकेका छन् ।
विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन संकायका डीन डा। माणिकरत्न शाक्यले जानकारी दिए ।
बौद्ध शिक्षाको महत्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुने यो कार्यक्रममा बौद्ध दर्शन र योगका विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको छ ।