श्याल्पा रिन्पोचेको परिकल्पना : विश्व शान्ति धाम, निर्माण सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ‘विश्वशान्ति धाम’को काम धमाधम भइरहेको छ । विश्वका जुनसुकै देशका नागरिक एकैठाउँ जम्मा भएर शान्तिको बिगुल फुक्न र सम्पूर्ण मानवताको कल्याण तथा लाभको लागि प्रार्थना गर्नसक्ने गरी लुम्बिनीमा विश्वशान्ति धाम निर्माण भइरहेको हो । धाम निर्माण स्थलमा शनिबार ढुंगा बिछ्याएर निर्माण कार्यको थालनी गरिएको छ । विश्वशान्ति कामनाको अभियान चलाइरहेका धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेको ¥याङ्ग्रिग एसे फाउण्डेसनले लुम्बिनीमा धाम बनाइरहेको हो ।

विश्वभर छरिएर रहेका बौद्धधर्मालवम्बी, अनुयायी, भिक्षुभिक्षुणी तथा आम मानिसको सहयोगमा धाम निर्माण गरिने फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका संचालक तथा धाम निर्माणकर्ता श्याल्पा रिन्पोछेले विश्व शान्ति धामले दिव्य आमा, रानी मायादेवी, हाम्रा विगत, वर्तमान र भविष्यका सबै आमाहरुलाई सम्मान गर्ने बताए । विश्वशान्ति धाममा हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरु एक साथ आएर शान्तिको बिगुल फुक्न सक्ने श्याल्पा रिन्पोचेको भनाइ छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामाले बुद्धजन्मस्थलमा विश्वशान्ति धाम बन्नु गर्वको विषय भएको बताए । उनले धाम निर्माणपश्चात विश्व शान्तिका लागि प्रार्थना गर्नेहरुको आकर्षण बढ्ने जनाउँदै निर्माण कार्य चाँडो सक्न अनुरोध गरे ।

त्यस्तै नेपालका लागि अमेरिकी राजदुताबासकी प्रवक्ता जेहरा नक्वीले पवित्रस्थल लुम्बिनीमा अमेरिकाको प्रतिनिधित्व गर्ने पहिलो धाम बन्न लागेको भन्दै खुशी व्यक्त गरिन् । यसले अमेरिकीहरुलाई लुम्बिनी आउन र बुद्धधर्मबारे थप बुझ्न सहयोग पुग्ने जनाइन् ।

धाम निर्माणका लागि रिन्पोछेलाई लुम्बिनी विकास कोषले ६६ रोपनी जमिन उपलब्ध गराएको छ । सन् २०१३ र २०१७ मा गरी जग्गा उपलब्ध गराइएको थियो । विश्वशान्ति धाम ३ हजार ४ सय स्क्वायर फुटमा बन्ने छ भने ४४ मिटर अग्लो हुनेछ । धाममा ध्यानकेन्द्र, सभाहल, पुस्तकालय र बुद्धमूर्ति रहनेछन् । शान्तिका लागि प्रार्थनास्थलसहित आकर्षक हिसाबले बनाइने छ । तीन वर्ष भित्रमा निर्माण गरिसक्ने लक्ष्य राखिएको धाम निर्माणका लागि एक अर्ब भन्दा बढी रुपैयाँ लाग्ने फाउण्डेसनले जनाएको छ ।

Share

Related posts