भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय केही चहलपहल देखिन थालेको छ । विशेष गरी भारतीय पर्यटकहरुको आगमनले लुम्बिनी भरिभराउ बनेको छ । लुम्बिनी विकास कोषका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीको भारतीय पर्यटक आगमनमा वृद्धि भएको हो ।
सन् २०२१ मा लुम्बिनीमा ७३ हजार ७ सय ३२ जना भारतीयले भ्रमण गरेका थिए । चालु अंग्रेजी बर्षको नोभेम्बर महिनासम्ममा १ लाख ८८ हजार २ सय ९८ जना भारतीयले लुम्बिनी दर्शन गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०१९ मा २ लाख ६ हजार १ सय ७१ जना भारतीय पर्यटकले लुम्बिनी अवलोकन गरेकोमा कोभिड संक्रमण शुरु भएपछि पर्यटक आगमन सून्यजस्तै भएको थियो । सन् २०१९ कै नोभेम्बरमा २७ हजार २ सय ५२ जनाले लुम्बिनी भ्रमण गरेकोमा चालु वर्षको सोही महिनामा मात्रै ३८ हजार ६ सय ८९ जना भारतीय पर्यटक लुम्बिनी आएका छन् भने आन्तरिक पर्यटकको संख्या पनि ह्वात्तै बढेको छ ।
कोभिडको जोखिम कम हुँदै गएपछि विस्तारै पर्यटन व्यवसाय चलायमान हुँदै गएको छ । पर्यटकको बढ्दो क्रमलाई देखेर लुम्बिनी विकास कोष पनि हौसिएको छ । भारतीय पर्यटकहरुको सुविधाको लागि कोषले सुरक्षाको साथै अन्य सुविधाहरुका कार्यक्रमहरु पनि अघि सारेको छ । यद्यपि पुनः कोभिड संक्रमणको जोखिम बढेपछि भने ब्यवसायीहरु चिन्तित बनेका छन् ।