गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र द्वारा “अहिंसा परम धर्म हाम्रो चाहना, विश्व सर्ब शान्तिको कामना“ मुल नारा सहित आयोजित विश्व शान्ति काग्यूर (त्रिपिटक) वाचन महापूजा अनुष्ठान सम्पन्न भएको छ । पूजा पोखरामा चैत १३ देखि १८ गतेसम्म आयोजना भएको थियो ।
काग्युर बाचनको निमित्त बिभिन्न गुम्बा र क्षेत्रहरुबाट लामाहरु सहभागि हुनु भएको थियो । महापुजा अनुष्ठानको लागि तमु धिं नेपालले पुजास्थल साथै आवश्यक सम्पूर्ण सामग्रीहरु उपलव्ध गराएको थियो । महापूजा अनुष्ठानमा चारै वटा बौद्ध परम्पराका श्रद्धेय गुरुहरुलाई सहभागि हुनु भएको थियो ।
अनुष्ठानको उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । त्यस्तै अनुष्ठानको दोस्रो दिन प्रमुख अतिथिको रुपमा कर्म काग्यु परम्पराका श्रद्धेय गुरु क्याब्जे डुब्सेङ रिन्पोछे ज्यु पाल्नुभई काग्युर (त्रिपिटक) बिषयमा जानकारी साथै महासंघयान बिषयमा महत्वपूर्ण धर्मदेशना दिनुभएको थियो ।

महापुजा अनुष्ठानको तेस्रो दिन ताग्लुङ् काग्यु परम्पराका प्रमुख धर्मगुरु परम पुज्यनिय ताग्लुङ् माटुल रिन्पोछे ज्यु प्रमुख अतिथिको रुपमा पाल्नुभई चार आर्य सत्य र सर्व साधारण ब्यक्तिहरुले कसरी बुद्धत्व प्राप्त सकिन्छ भन्ने बारे महत्वपूर्ण धर्मदेशना दिनुभएको थियो ।

महापुजा अनुष्ठानको चौथो दिन गेलुग्पा परम्पराका श्रद्धेय लोब्साङ् ज्याम्याङ रिन्पोछे ज्यु प्रमुख अतिथिको रुपमा आगमन हुनुभई पुण्य संचयको उपायहरु ढोग गर्ने तरिका बत्ती (छ्योमेद्) बनाउने र बाल्ने तरिका र चित्त कसरी शुद्धीकरण गर्ने बिषयमा महत्वपूर्ण धर्मदेशना प्रदान गर्नु भयो ।
महापुजा अनुष्ठानको पाँचौ दिन साक्य परम्पराका श्रद्धेय धर्म गुरु खेन रिन्पोछे कुन्ग दोन्डुब ज्यु र १०० औं वसन्त पार गर्नुभएका सताब्दी पुरुष श्रद्धेय गुरु लामा चिन बहादुर गुरुङद्वय प्रमुख अतिथिको रुपमा आगमन हुनुभई खेन रिन्पोछे ज्युबाट धर्मको नाममा पशु हत्या गर्न नहुने र बौद्ध आचरण सम्बन्धि धर्म देशना गर्नुभएको थियो भने बयोबृद्ध गुरु चिन बहादुर गुरुङले सबैलाई आशिर्वचन प्रदान गर्नु भएको थियो ।
महापुजा अनुष्ठानको अन्तिम दिन ञिङ्मा परम्पराका श्रद्धेय धर्म गुरु टुल्कु थुब्वाङ् तेन्जिन रिन्पोछे ज्यु प्रमुख अतिथिको रुपमा आगमन हुनुभई सम्पूर्ण गुरुजन तथा श्रद्धालू भक्तजन हरुलाई दीर्घायु अभिषेक (छेवाङ) प्रदान गर्नु भएको थियो ।

