रुपन्देहीको तिलोत्तमामा बुद्ध मूर्ति तोडफोड गरिएको घटनाप्रति प्रदेश सरकारले चासो देखाएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जिल्लाका सुरक्षा निकाय र प्रशासनका प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडमा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याई कारवाही गर्न निर्देशन दिएका हुन् ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक बसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नविन अधिकारीलाई मन्त्रालयमा बोलाएर उनले बुद्ध मूर्ति तोडफोडको घटनालाई गम्भिर रुपमा लिएर छिटो कानूनी दायरामा ल्याउन आग्रह गरेका हुन् ।
घटनाले शान्तिप्रिय जनताको भावनामा चोट पुग्नका साथै बुद्धको जन्मभूमिबारे विश्वभर नकारात्मक सन्देश फैलाउने प्रयास भएको उनले बताए । मन्त्री गिरीले दोषी पत्ता लगाउन ढिला हुँदा धार्मिक सदभावमा असर पुग्ने र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय समुदायमा नकारात्मक सन्देश जानेतर्फ संवेदनशील बन्न आग्रह गरे ।
लुम्बिनी भ्रमण बर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको मुख्य डिभाइडरमा तीनसय मिटर दुरीको अन्तरमा स्थापना गरेका २२ वटा बुद्धका मूर्ति राखिएको थियो ।
जसमध्ये नयाँमिलदेखि शंकरनगरसम्म राखिएका बुद्ध मुर्तिहरु बुधबार राति अज्ञात समूहले तोडफोड गरेको थियो ।
घटनाको चौतर्फी विरोध भइरहेको छ । शुक्रबार बौद्ध धर्मावलम्बी संघसंस्थाले घटनाको विरोध र सामाजिक तथा धार्मिक सद्भावको आव्हान गर्दै मणिग्रामर्मा याली निकालेका छन् ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको छ । टोलीले बिहीबारबाटै काम थालेको छ ।