काठमाडौं । बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) अनुसार मनोनीत भएकी आनीको पदावधि पाँच वर्षको हुनेछ । कोषको विनियमावलीअनुसार उपाध्यक्ष प्रमुख प्रशासकीय पदाधिकारीसमेत रहने व्यवस्था छ ।
लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्तिसँगै लुम्बिनीको विकास, व्यवस्थापन र प्रशासनिक कामले गति लिने विश्वास गरिएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रियस्तरमा यसको धार्मिक र सांस्कृतिक महत्त्व प्रवद्र्धन गर्ने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको छ ।
संक्षिप्तमा आनी छोइङ डोल्मा
सन् १९७० मा काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन् । बौद्ध गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा उनले बौद्ध मन्त्र र धार्मिक संगीतको अध्ययन गरिन् । पछि बौद्ध भजन तथा मन्त्रलाई संगीतमार्फत विश्वभर चिनाउँदै अन्तर्राष्ट्रिय ख्याति कमाइन् । ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा परिचित उनी धार्मिक संगीतसँगै सामाजिक सेवाका काममा समेत सक्रिय रहँदै आएकी छन् ।


