यसरी मनाइदैछ लुम्बिनीमा यो वर्षको बुद्धजयन्ती

यस वर्षको बुद्ध जयन्ती विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गर्दै मनाइने भएको छ । लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा सरकारले नै विशेष कार्यक्रम गर्दै आएको थियो । तर अघिल्लो वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण गएको वर्ष पनि बुद्धजयन्तीमा विशेष कार्यक्रम भएन । यो पटक पनि बुद्ध जयन्ती सामान्य तरिकाले मनाइने भएको छ ।

कोरोना महामारी सुरु भएयता मुलुकको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल लुम्बिनी गएको एक वर्षदेखि सुनसान छ । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको लुम्बिनी विकास कोषमा सदस्य सचिव सानुराजा शाक्यले बताए ।

यसपटक बुद्ध जयन्तीमा मायादेवी परिसरमा पूजापाठका लागि उपस्थित हुने सबैलाई ग्लोब्स, मास्क र फेससिल्ड अनिवार्य गरिएको छ । रुपन्देहीमा निषेधाज्ञाको प्रभाव छ । बुद्धस्थलमा पनि त्यसको असर छ । त्यसैले २५६५ औं बुद्ध जयन्ती विगतमा जस्तो भब्य हुने छैन । बुधबार बिहान लुम्बिनीमा रहेका गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा पुजाआजा र शान्तिपाठ गरिने छ । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र पर्यटनमन्त्रीको सन्देश सुनाइने छ । त्यसपछि पुजापाठ, परित्राण पाठ गरिने छ । साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिने छ । सिसौंका रुख विस्थापन गर्ने उद्देश्यसहित यसपल्ट बुद्ध जयन्तीका दिन लुम्बिनीमा २५ हजार फलफूलका विरुवा रोप्ने कार्यक्रम तय भएको छ ।

बुधबार सुरुमा थेरबादी बौद्ध परम्परा मान्ने भिक्षु भिक्षुणीले रतनसुत्र पाठ गर्नेछन् । ईशा पूर्व छैठौं शताब्दीमा भगवान गौतम बुद्धले लिच्छिबीहरुको राजधानी बैशालीमा रतन सुत्र पाठ गर्दा माहामारी अन्त्य भएको थियो । महायानी र बज्रयानीले संप्रदायले पनि माहामारी समाप्ती र मानव हित कल्याणका लागि सूत्र पाठ गर्नेछन् । यसैले यसपल्ट महामारी अन्त्यको कामना गरी पुजाआजा गर्न लागिएको हो ।

गौतम बुद्धको जन्म बैशाख पूर्णिमाकै दिन भएको थियो भने, बुद्धले बुद्धत्व प्राप्त गरेको दिन पनि पूर्णिमाकै दिन थियो । बुद्ध ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको दिन पनि पूर्णिमाकै दिन थियो । यसैले बुद्ध पूर्णिमाको निकै ठुलो महत्व छ ।

Share

Related posts