नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका ३ महिने बौद्ध शिक्षा प्रशिक्षण शिविरमध्ये बारबिसे नगरपालिका वार्ड नं ७ मा भइरहेको शिविरको निरीक्षण खेन्पो छुल्ठिम र कार्यक्रम संयोजक काइला लामाले गरेका छन् । दुई महिना अघि देखि सुरु भएको शिविर के कसरी सञ्चालन भइरहेको छ भन्ने निरीक्षण गर्न खेन्पो छुल्ठिम र काइला लामा फागुन ५ गते बारविसे पुगेका थिए । बारविसेको कग्यु दर्शेलिङ गुम्बामा शिविर भइरहेको छ । शिविरमा ५७ जना स्थानीय विद्यार्थी सहभागि भइरहेका छन् ।
शिविरमा स्थानीय बौद्धमार्गी समुदायका विद्यार्थीलाई बुद्ध शिक्षा, बुद्धको जीवनी लगायतका बौद्ध धर्म र दर्शन भित्र रहेका ज्ञानहरुको शिक्षा दिइने गरेको कार्यक्रम संयोजक काइला लामाले बताए । शिविर गत मंसिर ५ गतेदेखि सुरु भएको हो । चैत ५ गते उक्त प्रशिक्षण शिविर सम्पन्न हुँदैछ ।