मायादेवी ट्रेलको खोजी

मायादेवी सुत्केरी मार्ग पछ्याउँदै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमस स्क्ररोमले शुक्रबार साइकल यात्रा पूरा गरेका छन् । उक्त मार्गको प्रचारका लागि उनीहरूले साइकल यात्रा गरेका हुन् ।

उनीहरू बुद्ध जन्मस्थल लुम्बिनीबाट पडरिया, मनौरी, सिवलवा, बिजुवा, सिसहनिया, दोहनी, निग्लिहवा हुँदै शाक्य वंशीय राजधानी तिलौराकोट पुगेका थिए । उनीहरूले गोरेटो, धुले, ग्राभेल र कालोपत्र बाटो हुँदै ४ घण्टामा करिब ३६ किमि साइकल यात्रा गरेका थिए । यात्राका लागि उनीहरूले काठमाडौंबाट साइकल झिकाएका थिए । लुम्बिनी र कपिलवस्तुको पर्यटन विकासका लागि नयाँ गन्तव्यका रूपमा चार वर्षअघि मायादेवी सुत्केरी मार्ग पहिचान गरी पर्यटकीय गन्तव्य बनाउन सकिने योजना अघि सारिएको थियो । उक्त मार्गलाई पर्यटन प्रोडक्ट बनाउने अवधारणा लुम्बिनी विकास कोषका सद्भावना राजदूत तथा पर्यटनविद् विक्रम पाँडेकाजीले ल्याएका हुन् । मायादेवी घर फर्केको बाटोको रुट भने लामो समयदेखि बुद्धस्थलबारेमा पुरातात्त्विक अध्ययन अन्वेषणमा लागेका वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले पत्ता लगाएका हुन् ।

मायादेवी सुत्केरी भएर पहिलोपटक दरबार फर्केको मानिने बाटोलाई विश्व बैंकले मायादेवी ट्रेलका रूपमा विकास गर्न रुचि देखाएपछि अध्ययन र अवलोकन गर्न आएको युनेस्कोका नेपाल प्रतिनिधि म्यानहर्टले बताए । ‘विश्व बैंक र युनेस्को मिलेर अब अध्ययन गर्छौं,’ उनले भने, ‘त्यसपछि कसरी विकास गर्ने भन्ने विषयमा छलफल थाल्छौं ।’ गाउँले परिवेश, हरियाली र मनमोहक वातावरणले आफूहरू निकै लोभिएको र चार घण्टा बितेको पत्तै नपाएको उनले सुनाए ।

एउटै खाले पर्यटन प्रोडक्ट रहेको अवस्थामा यो ट्रेलको विकासले त्यसमा विविधता थप्न सहयोग पुग्नेछ । बौद्ध धर्मावलम्बी र शान्तिकामीका लागि मायादेवी सुत्केरी भई शिशुलाई लिएर राजमहल फर्केको बाटो हेर्न र माटो छुन पाउँदा पनि भाग्यमानी सम्झिने हुँदा यहाँ आउन लालायित हुने कोषका सद्भावना राजदूत पाँडेकाजीले बताए । ‘विश्व बैंकसँग सुत्केरी मार्गबारे पहिलोपटक यसरी आकर्षण थप्न सकिन्छ भनेर वर्कआउट गरेर दिएपछि उनीहरू कन्भिन्स भएका हुन्,’ उनले भने । भारतमा बुद्धिस्ट टुरिजम विकासका लागि विश्व बैंकले अर्बौं खर्चेर काम गरिरहेको छ । यहाँ पनि रुचि राख्नु सकारात्मक भएको लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले बताए । कोषले पनि वरिष्ठ पुरातत्त्वविद् बिडारी नेतृत्वमा तीन सदस्यीय समिति बनाएर अध्ययन गरिरहेको छ ।

संसारमा अहिंसाको अभियान चलाउने शिखर पुरुषलाई जन्म दिने नेपाल र नेपाली माटो टेक्न धेरै उत्सुक छन् । त्यही भएर सुत्केरी मार्गको बाटो देखाएर आध्यात्मिक ऊर्जा प्रदान गर्न लागेको कोषका सद्भावना राजदूत पाँडेकाजीले बताए । यो ट्रेलको विकास हुनासाथ सबै जना पर्यटनसँग जोडिन्छन् । स्थानीय व्यापार बढ्छ । पर्यटनसँग रोजगारी हुन्छ । सबैलाई फाइदा पुगेर यो क्षेत्रकै विकास हुने अवस्था आउने युनेस्को परामर्शदाता स्क्ररोमले बताए ।

आउँदो फागुन शुक्लपूर्णिमाका दिन आध्यात्मिक र शान्तिको ऊर्जा प्रदान गर्न सुत्केरी मार्गमा यात्रा कार्यक्रम तय गरिएको छ । नेपाल र भारतका विभिन्न ठाउँमा त्रिपिटक च्यान्टिङ गर्दै आएका अमेरिकी बौद्ध एसोसिएसनका अध्यक्ष वाङबो डिक्सेसँग कुरा गर्दा उनी पनि सँगै काम गर्न उत्साहित रहेको सद्भावना दूत पाँडेकाजीले सुनाए ।

उमेर हेरेर सुत्केरी मार्गको दूरी तय गरिएको छ । बालक, युवा, अर्धबैंसे र पाको उमेरलाई मध्यनजर गरिएको छ । सानो बच्चालाई ७ पाइला, अलि ठूलो बच्चालाई ७७ मिटर ७ सेन्टिमिटर, वयस्कलाई ७ किमि ७७ मिटर र वृद्धवृद्धालाई ७ सय ७७ मिटर हिँडाइन्छ । सबैलाई हिँडाउनुअघि ७ पाइला हिँडेर सुरु गराइन्छ । गौतम बुद्धको जीवनमा चारवटा ७ को महत्त्वपूर्ण अर्थ छ । हिँडाइ सकेपछि सबैलाई प्रसादका रूपमा खिर खुवाइन्छ । बुद्धले बुद्धत्व प्राप्तिका लागि तपस्या गरिरहेका बेला खिर खाएपछि निकै ऊर्जा पाएको र तत्कालै ज्ञान प्राप्त गरेको बताइन्छ । साभारः कान्तिपुर दैनिक

Share

Related posts