लामो समयदेखि अवस्थ रहदै आएका नेपालका सातौ संघनायक ज्ञानपूर्णिक महास्थवीरको आज शुक्रबार निधन भएको छ । मृगौलाको समस्याका कारण करिब २ महिनादेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहेका संघनायकको आज विहान ४ बजेर ३५ मिनेटमा निधन भएको भिक्षु बोधिज्ञानले जानकारी दिए ।
नेपालको बुद्धसासनमा संघ उपनायक पदको जिम्मेवारीमा रहेका उनी छैठौँ संघनायक भिक्षु अश्वघोष महास्थविरको देहावसान पश्चात् विसं २०७६ वैशाख १ गते अखिल नेपाल भिक्षु महासंघबाट नेपालको सातौं संघनायकको रूपमा पदासिन गरिएका थिए । सन् २०१९ मा नेपाल सरकारले उनलाई परमपूज्य हिज होलिनेस पदबाट सम्मानित गरेको छ ।
सन् १९३९ नोभेम्बर २१ तारिख (वि.सं. १९९६ मंसिर ६ गते) का दिन पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराको रूपमा संघनायक ज्ञानपूर्णिकको जन्म भएको थियो । उनको गृहस्थी नाम हिरालाल शाक्य हो ।
संघनायक भन्ते अस्पतालमा उपचारका लागी भर्ना भएपछि उनको स्वास्थ्य स्थितिबारे जानकारी लिन उपप्रधानमन्त्री इश्वर पोखरेल, लगायत मन्त्रीगण, सभासद तथा प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पनि अस्पताल पुगेका थिए ।
दिवंगत संघनायक ज्ञानपूर्णिक महास्थवीरप्रति नेपाल बुद्धिष्ट न्यूज निर्वाण प्राप्तिको कामना गर्दछ ।

