म्यानमारबाट २ अर्बभन्दा बढिको बुद्ध मूर्ति ल्याइने

File Photo

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति राखिने भएको छ । म्यान्मारमा निर्मित १ हजार ८ सय केजी तौल भएको मूर्ति स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा राख्न लागिएको हो ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले फाउन्डेसनलाई २ करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति सहयोगस्वरूप दिएको थियो । नेपाल सरकारसँग समन्वय गरेर मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति स्थापनासँगै शान्तिका प्रतीक भगवान् गौतमबुद्धका माध्यमबाट नेपाललाई विश्वभर प्रचारप्रसार गर्न थप सहयोग पुग्ने उनले बताए । उनका अनुसार मूर्ति म्यान्मारबाट हङकङ–कोलकाता हुँदै नेपाल आउने क्रममा छ । म्यान्मारबाट मूर्ति ल्याउन ‘ट्रान्स्पोर्टेसन चार्ज’ १२ हजार अमेरिकी डलर लागेको फाउन्डेसनले जनाएको छ ।

मूर्ति ल्याउँदा लाग्ने भन्सार शुल्क भने सरकारले छुट दिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । मूर्ति कात्तिक १४ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गर्ने कार्यक्रम रहेको मन्त्रालयका एक अधिकारीले बताए । अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो, सोही प्रदेशका दुई मन्त्रीलगायत पनि आउने कार्यक्रम तय भएको छ ।

स्पेनमा रहेका फाउन्डेसनका महासचिव एकराज गिरीका अनुसार मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । यसमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ धातुको हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर पर्ने उनले बताए ।

‘फाउन्डेसनमार्फत स्पेनमै १ सय १० हेक्टर जमिनमा बुद्धको मूर्तिसहितको पार्क बन्ने चरणमा छ, त्यसकै लागि म्यान्मारका खानी उद्योगीले हामीलाई बहुमूल्य धातु जडित मूर्ति दिने कुरा गर्नुभएको थियो,’ उनले भने, ‘हामीले वुद्ध जन्मेको देशमा पहिला उक्त मूर्ति राख्न भनेपछि सोहीअनुसार योजना बनेको थियो ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना स्पेनको एक कार्यक्रममा भाग लिन जाने क्रममा मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो । तिमल्सिनाले विदेशमा रहेका नेपाली र नेपाललाई माया गर्ने विदेशी नागरिकको सहयोगमा मूर्ति स्थापना हुन लागेको र यसले विश्वभर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

Share

Related posts