विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरुले बिहिबारदेखि अन्तराष्ट्रिय शान्ति पैदल यात्रा सुरु गरेका छन् । बिहान काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी महाविहारबाट भिक्षुहरु पैदल यात्रामा निस्किएका हुन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म आयोजना भएको पैदल यात्रामा करिब ६० जना भिक्षुहरु सहभागि छन् । अधिकांश बौद्ध भिक्षुहरु थाइल्यान्डका धुताङ्गधारी भिक्षु छन् । उनीहरुले दैनिक २५ देखि ३५ किलोमिटर हिँड्ने लक्ष्य लिएको बताए ।
पैदल यात्रासँगै भिक्षुहरुले शान्ति दीप पनि सँगै लगेका छन् । रातिको समयमा बास बस्ने स्थानमा भिक्षुहरुले शान्ति दीप प्रज्जवलन गर्नेछन् ।
भिक्षुहरुको पैदल यात्रा फागुन २० गते मंगलवार कनकमुनि बुद्धको जन्मभूमि निग्लिहवा पुगेर समापन हुनेछ । त्यहाँ विश्व शान्तिको कामना गर्दै शान्ति पाठ गरिनेछ र पैदल यात्रा समाप्त हुनेछ।