नेपाल बौद्ध संघको सहयोगमा नगरकोटमा निर्माण हुन लागेको श्यानफेन छोई खोर्लिंग गुम्बाको आइतबार शिलान्यास तथा भूमि पूजा गरिएको छ । काभ्रेको मण्डनदेउपर नगरपालिका वार्ड नं २, बालुवापाटीमा निर्माण हुने गुम्बाको लामा साङ्गे लेग्देन भुपेनले शिलान्यास तथा भूमि पूजा गर्नुभएको थियो ।

शिलान्यास कार्यक्रममा नगरकोटमा बौद्धमार्गी तथा गुम्बा निर्माण समितिका सरोकारवाला उपस्थित थिए । नेपाल बौद्ध संघले करिब ५ महिनाभित्र गुम्बा निर्माण सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण गर्ने योजना बनाएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए ।

नेपाल बौद्ध संघले भूकम्पबाट क्षतिग्रस्त भएका १ सय ८ गुम्बा पुनःनिर्माण गर्ने योजना लिएको छ । उक्त योजना अन्तर्गत अहिलेसम्म संघले ललितपुर, सिन्धुपाल्चोक र मकवानपुरमा ७ वडा गुम्बा बनाइ सकेको छ । नगरकोटमा निर्माण गर्न लागिएको श्यानफेन छोई खोर्लिंग गुम्बा संघको आठौँ योजना हो ।



