रौतहटको गैंडाटारस्थित १३२ फिट उचाइको नेपालकै अग्लो बौद्ध स्तुप निर्माण गरिने भएको छ । केही दिन अघि निर्माण गरिने उक्त स्तुपको शिलान्यास गरिएको छ । प्रदेश २ को रौतहट क्षेत्र नं ४ मा संघीय सांसद देवप्रसाद तिमिल्सिनाले स्तुपको शिलान्यास गरेका थिए । सांसद तिमिल्सिनाले स्तुप शिलान्यास गर्दै निर्माण सम्पन्न भएपछि स्तुप गैडाटारकै मात्र नभई रौतहटकै गौरवको विषय बन्ने बताए । स्तुपले गैडाटारलाई पर्यटकीय क्षेत्र बनाउने समेत उनको भनाई थियो ।
मागी गुम्बा व्यवस्थापन समितिद्वारा अभियानको रुपमा सुरु भएको स्तुपको मात्रै लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । स्तुप परिसरका अन्य पूर्वाधार निर्माणका लागि थप साढे २ अर्ब लाग्ने बताइएको छ । कुल ५ अर्ब रुपैया लाग्ने बताइएको उक्त स्तुप निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्नेछ । निर्माणाधीन स्तुप परिसरको क्षेत्रफल १० बिगाह छ । स्तुपको मात्रै मात्रै २.३३ हेक्टर रहेको छ ।
यी लगायत बौद्ध गुम्बा, आधुनिक बगैँचाको निर्माण, स्तुपा तथा गुम्बा वरिपरिको क्षेत्रमा रुद्राक्ष,चन्दन, बोधिचित्त लगायत बोटबिरुवाहरु पनि रोपिनेछन् । स्तुपा क्षेत्रमा खाने पानी तथा शौचालय उपलब्ध गराई स्तुपा क्षेत्रमा फराकिलो सडक पनि बिस्तार गरिने आयोजनाको उद्देश्य रहेको छ । स्तुप निर्माणको सम्पूर्ण कार्य पुरा गरिसकेपछि स्तुप परिसरमा बौद्ध धर्म सम्बन्धी पाठशाला, पुस्तकालय तथा संग्राहलयको निर्माण र सञ्चालन गरिने संस्थाका अध्यक्ष श्री छोईसाङ लामाले बताए ।