भूकम्पले प्रभावित बनेका नेपालका विभिन्न जिल्लाका १ सय ८ वटा गुम्बा निर्माण गर्ने अभियान सञ्चालन गरिरहेको नेपाल बौद्ध संघले सोमबार काठमाडौँको बौद्धमा विभिन्न स्थानमा रहेका गुम्बाका लामा गुरु तथा सरोकारवालासँग छलफल गरेको छ । तिबेत होटलमा आयोजित छलफल कार्यक्रममा विभिन्न गुम्बाका करिब २ दर्जन प्रतिनिधि सहभागि थिए ।
छलफलका सहभागिहरुले गुम्बा निर्माणसँगै पछिल्लो समय बौद्ध धर्म र दर्शनको परम्परागत अभ्यासलाई नयाँ पूस्तामा लैजान चूनौतिको सामना गर्नु परिरहेको बताए । आधुनिकताको नाममा परम्परागत संस्कार बिर्सदै जाने परिपाटीले पछिल्लो समय बौद्ध शिक्षा अध्ययन गर्नेको संख्या निकै कमी भइरहेको उनीहरुको गुनासो थियो ।
त्यस्तै सरकारी वेवास्ताका कारण धार्मिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका कतिपय प्राचीन गुम्बा नष्ट हुने अवस्थामा पुगिरहेको चिन्ता उनीहरुले व्यक्त गरे । छलफलमा सहभागि भएका लामा तथा बौद्ध समुदायका प्रवुद्ध व्यक्तिहरुले नेपाल बौद्ध संघले गा्रमिण क्षेत्रमा रहेका लामाहरुको बौद्ध शिक्षा र ज्ञानको अभिवृद्धि गर्न समेत भूमिका खेल्नु पर्ने सुझा दिए ।
छोग्याल रिन्पोछेको नेत्तृत्वमा सन् २०१६ सालमा स्थापना गरिएको नेपाल बौद्ध संघले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेका १ सय ८ गुम्बा निर्माण गर्ने अभियान लिएको छ । सिन्धुपाल्चोक, मकवानपुर र ललितपुरमा गरी हालसम्म संघले ५ ओटा गुम्बाको निर्माण सम्पन्न गरिसकेको छ ।