स्वास्थ्यमा गम्भिर समस्या देखिए पछि १० दिनदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका नेपालका संघनायक श्रद्धेय अश्वघोष महास्थवीरको स्वास्थ्यमा केही सुधार आएको छ । उनको स्वास्थ्य अवस्था बुझ्न बुधबार प्रधानमन्त्री केपी ओली, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य अस्पताल पुगेका थिए ।
९३ वर्षीय भिक्षुलाई रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जमेको बताइएको छ । उनको स्वास्थ्य कहिले सुधार हुने र कहिले गम्भीर हुने क्रम चलिरहेको थियो । तर बुधबार भने उनको स्थास्थ्यमा केही सुधारका लक्षणहरु देखिएको भिक्षु महासंघले जानकारी दिएको छ ।

नेपालकै भिक्षुहरुमाझ पनि प्रगतिशिल एवं सुधारवादी भनेर चिनिने भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाका सदस्य हुनुहुन्थ्यो भने त्यसैगरी २०५१ सालमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा पनि नियुक्त हुनुभएको थियो ।



