बौद्ध ग्रन्थ अनुवादमा सक्रिय बुद्धवचन अनुवाद समिति

सम्भोट लिपिमा रहेका प्राचीन बौद्ध ग्रन्थहरुलाई नेपाली भाषामा अनुवाद गर्न २०७४ सालमा बुद्धवचन अनुवाद समिति स्थापना गरिएको हो । यस समितिमा सम्भोट लिपिमा दक्षता हासिल गरेका बौद्ध दर्शनका विद्वानका रुपमा परिचित गेशे, खेन्पो र आचार्यका साथै संस्कृत र नेपाली भाषाका विज्ञ संलग्न छन् ।

काठमाडौँको बौद्धमा कार्यालय रहेको यो समिति मार्फत अहिले संस्कृत र सम्भोट लिपिमा रहेको प्रज्ञा पारमिता नेपालीमा अनुवाद गर्ने कार्य धमाधम भइरहेको छ । ४ वर्षे परियोजना अन्तर्गत सुरु भएको अनुवादको कार्य गत वर्षदेखि सुरु भएको हो । ३ वटा प्रज्ञा पारमिताका १ लाख भन्दा बढि पंक्तिलाई नेपालीमा अनुवाद गर्ने कार्यलाई यस समितिले तिव्रता दिइरहेको छ ।

संस्कृतमा रहेका महायान र वज्रयान बौद्ध धर्मका प्राचीन ग्रन्थहरु जुन भोट भाषामा अधिकांस अनुवाद भएका छन् , ती बौद्ध ग्रन्थहरुलाई नेपाली भाषामा अनुवाद गरी संरक्षण, सम्वर्धन र प्रचारप्रसार गर्नु बुद्धवचन अनुवाद समितिको मुख्य उद्देश्य हो ।

२५ जना भन्दा बढि सदस्य रहेको अनुवाद समितिमा अध्यक्ष टीका शेपा, सम्पादक लोचवा पुण्यप्रसाद पराजुली, अनुवादक भोजराज लामिछाने र खेन्पो निमासिंह लामा लगायतका बौद्ध विद्वान संलग्न छन् ।

Share

Related posts