भुटानमा गौतम बुद्ध हिडेको बाटो खुल्ला गरिदैं

‘चट्याङको देश’ उपमा पाएको भुटान। दक्षिण एसियामा अवस्थित यो सानो मुलुक संसारका धेरै लागि अपरिचित नै छ। तर, भुटान पुग्ने भने त्यहाँ पुग्ने बित्तिकै लोभिने गरेका छन्। हो, त्यसै भुटानका धेरै स्थान र महत्त्वका बारे धेरै वर्षपछि संसारका थुप्रै मानिस जानकार हुन सक्नेछन्।

६० वर्षको अन्तरालमा ‘ट्रान्स भुटान ट्रायल ’ फेरि खुला हुँदैछ । क्यानडा भुटान फाउन्डेसनले दिएको जानकारी अनुसार दुई सय ५० माइलको सो रुटले नौ जिल्ला, २८ स्थानीय निकाय, दुई महानगरपालिका, एक राष्ट्रिय पार्क तथा चार सय ऐतिहासिक र सांस्कृतिक क्षेत्र समेटेको छ।

फाउन्डेसनकै मुख्य आर्थिक सहयोगमा सो रुट सञ्चालन हुन लागेको हो। यो रुट पछ्याउनेले १८ ठूला पुल तर्ने छन्। साथमा १० हजार सिँढी चढ्ने छन्। टुर पैदलबाट वा साइकलबाट सम्भव हुनेछ।

‘यो एउटा समुदायमा आधारित कार्यक्रम हो। यसले ऐतिहासिक धरोहरलाई संरक्षण गर्नेछ। साथमा देश भित्रको टिकाउ पूर्ण नेट जिरो कार्बन उत्सर्जनको नीतिका बारे अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी पनि गराउने छ,’ भुटान क्यानडा फाउन्डेसनका प्रमुख साम बायथले भनेका छन्। उनी अगाडि भन्छन्, ‘ट्रान्स भुटान ट्रायलले देशको समग्र खुसीयाली पूर्ण संस्कारको प्रत्याभूति गराउँछ भने पछिल्लो पुस्तालाई पनि त्यसै पथमा लम्कन प्रेरित गर्ने छ।’

यस ट्रायलको सबैभन्दा पश्चिमी बिन्दु हाको सहर हो। यो तिब्बती सिमानामा अवस्थित छ। यसको पूर्वी सिमाना ट्रास्चीङघाङमा छ। यो भारतको अरुणाञ्चलसँग जोडिएको छ।

क्यानडा भुटान फाउन्डेसनले दिएको जानकारी अनुसार यो ट्रायलमा सहभागी हुने महत्त्वाकाङ्क्षी धावकका लागि एक महिना समय लाग्छ। धेरै पर्यटकले एउटा टुक्रा मात्र तीन, चार, या पाँच दिन मात्रको यात्रा गरेर टुरको अन्त्य गर्न पनि सक्नेछन्।

यो ट्रायललाई पुनः स्थापित गर्ने सवालमा भुटानी राजा ४१ वर्षीय जिग्मे केसर नामगेल वाङ चुकको भूमिका र चासो पनि महत्त्वपूर्ण रहेको छ।

कुनै समय गौतम बुद्ध हिँडेको विश्वास गरिदै आएको सो बाटो पछिसम्म पर्यटकका लागि खुला गरिएको थियो। सन् १९६० मा सडक विस्तार गरिए पछि यस रुटमा मानिस हिँड्न बन्द भएको हो। मार्च महिनामा नरेशले नै सो रुटको उद्घाटन गर्ने छन्।

अत्यन्त महत्त्वपूर्ण र रमाइलो स्थान भए पनि पर्यटकलाई धेरै लोभ्याउन असमर्थ भुटानमा महामारी सुरु हुनु भन्दा अघि पनि वार्षिक रूपमा केही हजार पर्यटक मात्र भित्रने गरेका थिए।

यो प्याकेजका लागि भुटान सरकारले प्रतिव्यक्ति दैनिक दुई सय ५० अमेरिकी डलर खर्च तोकेको छ। यसमा भुईँको यातायात, बसोबास, खाना र गाइड सेवा समावेश गरिएका छन्। त्यहाँ भ्रमणमा जान चाहनेले परमिट लिन आवश्यक छ। यसका लागि अप्रिलमा निवेदन खुला गरिने छ।

सन् २०२२ को स्प्रिङमा भुटान कोभिड महामारीका सम्पूर्ण कडाइबाट मुक्त हुँदैछ भन्ने हल्ला पनि अन्तर्राष्ट्रिय क्षेत्रमा पहिले नै चलेको थियो।

त्यसो त बौद्ध धर्मावलम्बीको प्रभाव रहेको भुटानमा बुद्धलाई स्मरण गर्ने काम यस वर्ष धेरै भए। यसै वर्ष गुरु रिम्पोचेको जन्म जयन्तीको अवसरमा भारतीय राजदूतावासले भुटानलाई बुद्धको सालिक उपहार दिएको थियो।

तासिङजोङडलको ग्रान्ड कुर्ने हलमा यो सालिक राखिएको छ। सालिकको उद्देश्य सबै भुटानवासीलाई बौद्ध पथमा हिँड्नका लागि प्रेरित गर्ने भएको सो सालिक हस्तान्तरण कार्यक्रममा उपस्थितहरूले जनाएका थिए।

ग्रान्ड कुर्नेमा सालिक राख्नु अगाडीसम्म पनि विभिन्न कार्यक्रम हुने गरेका थिए। राज परिवारको कार्यक्रम पनि सोही हलमा हुने गरेका थिए। त्यहाँ अहिले ३ सय भिक्षुहरू राखिएका छन्।

भुटानको कुल जनसङ्ख्याको ७५ प्रतिशत बौद्ध तथा २३ प्रतिशत हिन्दु छन्। पछिल्लो समय भुटानमा बुद्धका १० हजार विम्ब बनाइएका छन्। आठौँ शताब्दीदेखि नै भुटानमा बौद्ध धर्मको अभ्यास बढेको अनुमान छ।

बौद्ध धर्मको अलौकिक महिमा भएको तथा हिंसा भन्दा बढी शान्तिमा रमाउने पूर्वज भएको भुटानको पर्यटन क्षेत्र भने खासै उपलब्धि मूलक हुन सकेको थिएन। त्यहाँ राम्रा गन्तव्यस्थल नै नभएका त होइनन्। परन्तु, ती स्थलहरूले धेरै पर्यटकको मन जित्न सकीरहेका थिएनन्।
पहाडी भूभाग, प्राकृतिक सुन्दरता ,हिउँ परेका मनमोहक दृश्य भुटानका आकर्षण हुन्। सबै भन्दा अचम्म त ७२ प्रतिशत भूभाग जङ्गलले ढाकेको यो देश कार्बन उत्सर्जनमा शून्य होइन की ऋणात्मक देश हो। पछिल्ला वर्ष जलवायु परिवर्तनको समस्याले संसार नै थिचिएको समयमा भुटान भने सवैका लागि प्रेरणाको श्रोत बनेको छ।

थुप्रै गुम्बा र बौद्ध धर्मका आस्थाका केन्द्रहरू भुटानका थप आकर्षण बनेका छन्। हरेक गुम्बाका पेन्टिङ र बनावट त्यत्तिकै आकर्षित देखिन्छन्। त्यहाँका पुरातात्त्विक महत्त्वका बस्तुलाई हेर्ने हो भने परापूर्व कालमा नै त्यहाँ वास्तुकलाको राम्रो विकास भएको पाइन्छ।

भुटानको राजधानी थिम्पुलाई सबैभन्दा बढी हेर्न लायक र घुम्न लायक स्थानको रूपमा चिनिन्छ। छु खोलाको दृश्य देखिने यो सहर उचाइमा भएको राजधानी मध्यको एक हो। त्यहाँ पुग्दा परम्परादेखि अतिथिलाई विशेष स्वागत गर्न रुचाउने थिम्पुको परम्पराको अनुभव गर्न पाइन्छ भने आधुनिक विकास पनि त्यहाँ हेर्न पाइन्छ।

बुद्ध डोरमेन्मा र छोर्टेन स्मारक राजधानी थिम्पुकै हेर्न लायक स्थान हुन्। क्लक टायर स्क्वायर थिम्पुको अर्को आकर्षण हो। मासु खानेका लागि क्याफे, बार तथा नाइट क्लब पनि थिम्पुमा खोलिएका छन्।

पहाडको टुप्पोमा बनाइका महल, हरियाली र प्राकृतिक सुन्दरता पारोका आकर्षण हुन्। जत्ति पुगे पनि जान मन लाग्ने धेरै स्थान पारोमा नै छन्। भुटानको अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यहीँ छ। भुटानमा सबै भन्दा धेरै पर्यटक पुग्ने स्थान नै त्यही हो। थुप्रै मन्दिर, स्मारक र सङ्ग्रहालयका कारण पारो पर्यटकको आकर्षणको थप केन्द्र बनेको छ।

एडभान्चर चाहनेको कमा पुनाखा अर्को आकर्षणको केन्द्र हो। दुई नदी मु र फोमा राफ्टीङ गर्न चाहनेको त्यहाँ भिड नै लाग्ने गरेको छ। परम्परागत सङ्गीत र नाचका कारण यो स्थान अझ बढी रमाइलो बनेको छ। प्राकृतिक सुन्दरताको अनुभव गर्न मात्र होइन भुटानको संस्कृतिलाई बुझ्नका लागि समेत पुनाखा उपयुक्त स्थान मानिन्छ।

ट्रोङसा भुटानको अर्को आकर्षण हो। मानिसको ध्यान आकर्षण गर्ने सामान्य र रोमाञ्चक स्थान त्यहाँ छन्। व्यापारिक रणनैतक सडक बुम्ताहाङसंग जोडिएका कारण पनि यस सहरको महत्त्व बढेको हो। ट्रोङसाको प्रमुख आकर्षण ट्रोङसाजंग गुम्बा मानिन्छ। यस गुम्बा मार्फत बौद्ध धर्मका बारे जान्न सकिन्छ। बोट बिरुवा धेरै रोपिएको कारण यो सहरको वातावरण शान्त छ। साथमा कम जनघनत्वका कारण यहाँको वातावरण रमाइलो र आनन्ददायक पनि छ।

जाकारको आकर्षण

जाकार भुटानको अर्को पर्यटकीय आकर्षणको केन्द्र हो। यो एक व्यावसायिक स्थान हो। दुग्ध उत्पादनलाई प्रश्रय दिइने सो स्थानमा १४ औँ शताब्दीमा नै चिज कारखाना स्थापना भएको थियो।

पोब्सीखा यु आकारको अर्को उपत्यका हो। यसै गरी वाङदी फोद्रांग र जिम्मी दोर्जे राष्ट्रिय पार्क भुटानका अन्य हेर्न र घुम्न लायकस्थान हुन्। यो पार्क जङ्गली जनावरको वासस्थानको हकमा एसियाकै एक महत्त्वपूर्ण स्थान हो।

त्यसपार्कमा अन्यत्र नपाइने थुप्रै चरा चरुंगी तथा जङ्गली जनावर पाइने गरेको छ। कुनै समय गौतम बुद्धले पाइला टेकेको भुटानमा बौद्ध धर्मावलम्बीको उपस्थिति त्यत्तिकै छ।

त्यसै भुटानको प्राकृतिक सुन्दरता र ऋणात्मक कार्बन उत्सर्जन संसारकै लागि प्रेरणाको श्रोत हो। भुटान क्यानडा फाउन्डेसनको यो प्रयासले भुटान जस्तै शान्त र प्राकृतिक रूपले सुन्दर र आनन्ददायक स्थान बनाउने प्रेरणा सायद त्यहाँ पुग्ने पर्यटकले पाउने छन्। मनोज घिमिरे, खबरहबमा प्रकाशित

Share

Related posts