नयाँ वर्षको स्वागतमा सोनाम ल्होसार मनाउँदै बौद्धमार्गी

तामाङ लगायतका विभिन्न बौद्धमार्गी समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व मनाउँदैछन् । ल्होसार मनाउने क्रममा आज विविध कार्यक्रम आयोजना गरिएको छ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८ सय ५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । ल्होसारको अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष ओमिक्रोन भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन ।

विगतका वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होछारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिने गरिएको थियो । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने तयारी गरिएपनि स्थगित गरिएको जनाइएको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होछार मनाइने बताइएको छ ।

Share

Related posts