नेपालका संघनायक भिक्षु अश्वघोष महास्थवीरको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौको टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो १:३० बजे उनको निधन भएको हो । करिब ३ सातादेखि महास्थवीरको स्वास्थ्य गम्भिर बन्दै गएको थियो ।
संघनायकको रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या हुनुका साथै कलेजोमा पानी जमेको थियो ।
डेढ महिना अघि झाडा पखालाले सताएपछि उनलाई सुरुमा जमलस्थित ग्रान्डी सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर उक्त अस्पतालमै उपचार गराइरहँदा भिक्षुको स्वास्थ्य थप जटिल बन्दै गएपछि करिब तीन साता अघि ग्राण्डी अस्पतालमा लगिएको थियो । संघनायकको स्वास्थ्य अवस्थ बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली समेत अस्पताल पुगेका थिए ।
बुद्ध धर्मका विविध पक्षलाई सामाजिक, व्यावहारिक र जीवनपयोगी विषयसँग जोडेर अध्ययन गर्ने धाराको शुरुआत गरेको संघनायक अश्वघोष प्रगतिशील र सक्रिय भिक्षुको रुपमा चिनिन्छन् । चिनिया कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटघाटबाट निकै प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाका सदस्य बनेका थिए ।
त्यसैगरी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरिएको थियो । भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेका छन् । नेपालमा भिक्षु संघको तालिमको अवधारणा भित्र्याउने श्रेय उनैलाई जान्छ ।

