बसन्त महर्जन
कुनै पनि असल काम थाल्नका लागि गौतम बुद्धले निश्चित समय पर्खन भनेका छैनन् । अन्य समाजमा यसलाई ‘शुभ मुहूर्त’ भन्ने चलन छ तर बौद्ध समाजमा यस्तो छैन । बुद्धका अनुसार असल काम थालनी हुने सबै समय शुभमुहूर्त नै हुन्छ । यही धर्मले सिंचित भारतीय समाजमा एउटा काव्यात्मक हिन्दी कहावत छ, ‘जब जागा तब सबेरा’ ।
स्वयम्भू महाचैत्यको पश्चिमतिर काठमाडौं उपत्यका प्रवेश गर्ने केही बाटा छन् र कोही कोही निश्चित बाटो प्रयोग गर्दैनथे किनभने ती बाटा प्रयोग गर्दा सबैभन्दा पहिला स्वयम्भू महाचैत्यको दर्शन हुन्छ । स्तूपको दर्शन गर्नु अशुभ हुन्छ भन्ने धारणा बोकेका तिनीहरू अन्य मतवादसँग सम्बन्धित थिए । तर तिनीहरूकै सन्तान अहिले गौतम बुद्धलाई मन पराउँछन् र बौद्ध धर्म दर्शन जान्नबुझ्न चाहन्छन् । अनेक सन्दर्भमा बुद्धको नाम उल्लेख गर्न उत्साहित हुन्छन् । यसलाई पनि ‘जब जागा तब सबेरा’ भन्न सकिन्छ । कतिपय सन्दर्भमा उनीहरूको आसय असल हुँदाहुँदै पनि बुद्ध र बौद्ध धर्मअनुकूल नभइरहेको हुन्छ । आधारभूत ज्ञानको अभावमा यस्तो हुनसक्छ र यस्ता कुराहरूमा स्पष्ट हुन जरुरी छ ।

नेपालका कतिपय ठाउँमा ‘जय बुद्ध’ भनेर बुद्धको प्रसस्ती गरेको पाइन्छ । तर यो गलत कार्य हो वा गलत बुझाइको परिणाम । भगवान श्री रामचन्द्र की जय, जय सीताराम, जय काली, जय जगदम्बे आदि भनेर आआफ्ना देवताको प्रसस्ती गाउने गरिन्छ र त्यसमा टिप्पणी नगरौं । तर त्यही लहरमा ‘जय बुद्ध’ पनि भन्ने गरिन्छ जुन आपत्तीजनक छ । दार्शनिक अवधारणा मात्रै नभएर मूल्य मान्यतामा समेत रहेको फरक कुरामा हेक्का नहुँदा बुद्धलाई पनि अन्य धर्मका पात्रहरूजस्तै एक पात्रको रूपमा बुझ्ने र बुझाउने गर्दछन् ।
सम्यकसम्बोधि प्राप्त गर्नेलाई सम्यकसम्बुद्ध भनिन्छ र सजिलोका लागि बुद्ध मात्रै भन्ने गरेको पाइन्छ । अनेकौं सम्यकसम्बुद्धमध्ये एक हुन्– गौतम बुद्ध । बुद्ध हुनका लागि बोधिसत्व भई अनेकौं जन्म लिएर विभिन्न पारमीहरू पूरा गर्नु पर्ने हुन्छ र अन्ततः क्लेशावरण र ज्ञेयावरण क्षय गरेर सम्यकसम्बुद्ध हुन्छन् । यस अवस्थामा अब पुनः जन्म लिनु पर्दैन । जन्म र मृत्युको चक्र तोडिसकेको अवस्था हो । पूर्ण रूपमा मुक्त अवस्था हो । यसलाई अंग्रेजी शब्द ‘पर्फेक्ट म्यान’ प्रयोग गर्न सकिन्छ । यस अवस्थामा ‘जय बुद्ध’ भन्दै जयकार गर्नुको तुक नभएको मात्रै नभएर आपत्तीजनक कुरा हो । बौद्ध धर्मदर्शनले एक इन्द्र वा एक ब्रह्माको कुरा गर्दैन । यसका अनुसार हजारौं इन्द्र र हजारौं ब्रह्माको अस्तित्व विद्यमान छ । केही राम्रो काम गरेको पुण्य बलले जो कोही पनि मान्छे देवलोकमा देवता भएर जन्मन पुग्छन् । लामो आयु भएका ब्रह्मा हुन् वा इन्द्र, वा अन्य देवता, देवलोकमा सदाका लागि बस्न पाउने होइनन् । जसरी मान्छे आफ्नो आयु सकेपछि मृत्यु भएर अन्य लोकमा जन्मन जाने हुन् त्यसरी नै इन्द्र, ब्रह्मालगायतका देवताहरू पनि आफ्नो पुण्य क्षय भएपछि स्वतः त्यस लोकबाट च्यूत भएर अन्य लोकमा जन्म लिन पुग्छन् । अझ भनिन्छ, सम्पूर्ण सत्वप्राणीलाई कुशल कर्म गरेर पुण्य संचय गर्ने राम्रो अवसर मानव योनि हो । स्पष्ट भयो, देवताहरू पनि जन्म र मृत्युको दुःखबाट मुक्त भइनसकेका प्राणी हुन् । उनीहरूको मुक्ति तब हुन्छ जब अर्हत् वा सम्यकसम्बोधि लाभ गरी स्वयं बुद्ध हुन्छन् । बुद्धभन्दा माथि अर्को गति छैन ।
कसैले जयकार गर्दैमा कसैको जय हुने बौद्ध मान्यता अनुकूल छैन । जसले जे कुशल कर्मको सम्पादन गर्छ, सोहीअनुसार उसले नतिजा पाउने हो । कसैले असल कर्म गरेको छ तर कुनै सत्ताले श्राप दिएर नराम्रो नतिजा दिने वा नराम्रो काम गरेको भएपनि कुनै सत्ताले आशिर्वाद दिएर राम्रो नतिजा दिलाउन सक्दैन । यसलाई कर्मसिद्धान्त भनिन्छ । कर्म सिद्धान्तअनुसार कसैले नराम्रो काम गरेको भए त्यसको भोग उसले भोग्नैपर्दछ, यसमा स्वयं बुद्धले पनि तलमाथि गर्न मिल्दैन । यस अवस्थामा जयकार गर्दैमा जय हुने होइन । बरु उसको काममा सहयोग गर्न सकिन्छ, सहायक बन्न सकिन्छ । आफ्नै कुशल कर्मले सम्यकसम्बुद्ध भइसकेकालाई अब केही कुराको खाँचो हुँदैन भने जयकार गर्नुको अर्थ पनि हुँदैन ।
नेपालमा बौद्ध धर्मको मात्रै नभएर आफ्नै धर्मसम्प्रदायका सम्बन्धमा पनि आधारभूत ज्ञानको अभाव हुँदोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बुद्धलाई विष्णुको अवतारको रूपमा बुझ्नु हो । विष्णुको अवतार सम्बन्धी अवधारणा वैष्णव सम्प्रदायको मात्रै हो र यो सुरुदेखिको अवधारणा होइन पनि । विष्णुलाई प्रधान पात्रका रूपमा अगाडि सारेर संगठित बनेका वैष्णवी सम्प्रदायका अनुसार विष्णु अजर, अमर र अविनाशी हुन् । बेलाबेलामा पृथ्वीलोकमा विभिन्न रूपमा अवतरित भइरहन्छन्, तसर्थ अवतार भनिएको हो ।
सुरुमा बुद्ध र बौद्धलाई प्रमुख प्रतिद्वन्द्वीका रूपमा द्वेष राखेर पनि केही नलागेपछि बुद्ध र बौद्ध धर्मलाई आफूमा समाहित गर्ने उद्देश्यले अवतारवादको अवधारणा ल्याएको हो । र, बौद्ध धर्मलाई हिन्दू धर्मको एउटा शाखा भन्नुको अन्तर्य पनि यही हो । बौद्ध धर्मदर्शनको आधारभूत दर्शन अनित्य, दुःख र अनात्म हो भने वैष्णवीहरूका लागि उक्त दर्शन अलिकति पनि पाच्य हुँदैन । उनीहरू आत्मा र परमात्माका कुरा गर्दछन् तर बौद्धहरू त्यसलाई मिथ्या ज्ञान मान्छन् । तारतम्य नै मिल्दैन । बौद्ध दर्शनले वैष्णवी दर्शनको खण्डन गर्छ । बुद्धलाई विष्णुको अवतार मान्ने हो भने, अब आइन्दा अर्को अवतारको कुरा नगर्नु पर्ने हो किनभने गौतम बुद्धको महापरिनिर्वाण भइसकेका कारण पुनः जन्म हुँदैन । यसबाट बुझिन्छ, बौद्ध दर्शन के कस्तो हो भन्ने सामान्य जानकारीको अभावमा नै अवतारवाद अवधारणा ल्याएर बुद्धलाई अन्य देवीदेवताजस्तै अपनाउनु र आफ्नो दुनो सोझ्याउन खोजेको मात्रै हो । यस्तो अधकल्चो ज्ञानको आधारमा हिडेपछि ‘जय बुद्ध’ भन्दै जयजयकार गर्नु स्वाभाविक हो ।
बौद्ध धर्मको इतिहासमा वर्तमान विश्व पुनः जागरित भएको अवस्था छ । अनेकौं कोणबाट यसको अध्ययन–अनुसन्धान तथा अभ्यास भइरहेको छ । बुद्धबाट देशित उपदेशमाथि शंका गरी परीक्षण गर्नसक्ने स्वतन्त्रता स्वयं बुद्धले नै दिएका थिए भने अतीतमा मात्रै नभएर वर्तमानमा पनि यस स्वतन्त्रतालाई भरपूर उपभोग गरिँदैछ । यस अवस्थामा बौद्ध धर्म विश्वमा नै लोकप्रिय हुनु स्वाभाविक हो । विश्वमा आएको यो लहरबाट आफू पनि प्रभावित छु भन्ने देखाउने एक जमात छ भने अर्कोतिर बुद्ध र बौद्ध धर्मदर्शनप्रति चासो पनि बढ्दो छ । ‘जब जागा तब सबेरा’ भनेजस्तै समय बितिसकेको छैन । यो चासोलाई ध्यानमा राखेर शिक्षाको प्रचारप्रसारमा लाग्नु पर्ने दायित्व बौद्ध विद्वानहरूको काँधमा आएको छ । यो दायित्व नबोक्ने हो भने ‘जय बुद्ध’ लगायत अन्य अनर्गल कुराहरू सुन्न तयार भएर बस्दा हुन्छ ।




साह्रै राम्रो लेख लाग्योो । धन्यवाद छ यहाँलाई ।