लुम्बिनी–तिलौराकोट सडकलाई बोधिवृक्ष करिडोर बनाइने

बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धको दरबार रहेको तिलौराकोटसम्मको सडकलाई बोधिवृक्ष करिडोर बनाउने पहल थालिएको छ । बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्म बोधिवृक्ष करिडोर बनाउने लक्ष्यसहित पहिलो चरणमा तिलौराकोट–लुम्बिनी सडकको दुबैतर्फ बर–पिपल लगायतका एक हजार बिरुवा रोप्न थालिएको हो । ३२ कलोमिटर दूरीको यो सडक खण्डमा भारत र नेपालका वृक्षारोपण अभियान्ताहरु दुई दिनसम्म पैदल यात्रा गर्दै करिब एक हजार थान बिरुवा रोप्ने छन् ।

पिपल, निम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाजको आयोजना र तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहआयोजनामा वृक्षारोपण हुन लागेको हो । पीपल, निम, तुलसी अभियान पटनाले भारतका विभिन्न धार्मिक स्थलमा बोधिवृक्ष करिडोर बनाउने अभियान सञ्चालन गर्दै आएको छ ।

आज र भोलि दुई दिनसम्म तिलौराकोटदेखि लुम्बिनीसम्म पिपल, बर, पारिजात, गुलमोहर, निम, तुलसी, कपुरलगायत जातका करिब एक हजार बिरुवाहरु रोप्न लागिएको सह–आयोजक तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले बताए ।

वृक्षारोपणका लागि भारतको उत्तरप्रदेश, उत्तराखण्ड, हिमाञ्चल, उडिसालगायत प्रदेशबाट २५ जना र जनकपुरबाट २५ जना वन प्राविधिको टोलीले विभिन्न जातका बिरुवा ल्याएर आएका छन् । अभियानमा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहले करिब एक हजार बिरुवा उपलब्ध गराउने भएको छ ।

यो अभियानमा कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउंपालिका, मायादेवी साझेदारी वन तथा रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी साझेदारी वनले सहकार्य गरेका छन् ।

यो वृक्षारोपण अभियानले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै वातावरण र जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो योगदान पुग्ने आयोजकको विश्वास छ ।

Share

Related posts