लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालिन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरुको सह–आयोजनामा विहिबार मायादेवीमन्दिर प्राङगणमा पाँच सय जनालाई अल्पकालिन भिक्षु अर्थात कुलपुत्र प्रव्रज्या गराइएको हो । विहिवार लुम्बिनीमा एकैदिन पाँच सयको संख्यामा अल्पकालिन भिक्षु बनेकाहरुलाई अखिल नेपाल भिक्षु महासंघका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गरेका थिए ।
पहेलो चिवर लगाउँदै अल्पकालिन भिक्षु बनेकाहरुले भिक्षु जीवनमा प्रवेश गर्नका लागि पालना गर्ने सय वटा नियम पालना गर्नु पर्ने हुन्छ । सामान्य अनुयायीहरुले पञ्चशिल र अष्टशिलको पालना गर्ने भएपनि अल्पकालिन भिक्षुले २० दिनसम्म पूर्ण रुपमा बौद्ध शिलको पालना गर्दै आफुलाई रुपान्तरण गर्नुपर्ने हुन्छ । फागुन २७ गते काठमाडौं र फागुन २८ गते लुम्बिनीमा गरि ५ सय जनाको केश मुन्डन गरिएको थियो । अल्पकालिन भिक्षु बनेकाहरुले शान्ति र मानवताका लागि भिक्षु बनेको बताए ।
केश मुन्डन फागुन २७ र २७ गते नै गरिए पनि विहिबार मात्रै उनीहरु प्रवज्या गरी अल्पकालीन भिक्षुका रुपमा पहेलो चिवर लगाउन योग्य भएका हुन । चिवर प्रदान एंव कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी अर्थात् भिक्षु मैत्तयले भगवान बुद्धको जन्मस्थलमा प्रव्रज्यामा सहभागी हुनेहरुलाई स्वागत गरे ।
बुद्ध जन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन ठूलो संख्यामा प्रव्रज्या कार्यक्रम पहिलो पटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । यस्ता कार्यक्रमले बुद्ध शिक्षाको प्रवद्र्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्ने शाक्यको भनाइ छ ।
कोभिड अघि सन् २०११ मा एक हजार, २०१५ मा एक हजार ११२ जना र सन् २०१९ मा एक हजार ११९ जनालाई प्रव्रज्या गराइएको थियो । आगामी दिनमा एकै दिन १० हजारलाई प्रव्रज्या गराईने योजना रहेको विकास कोषले जनाएको छ । प्रव्रज्यामा नेपालका २० भन्दा बढि जिल्लाबाट सहभागिता छ । चैत १७ गते अल्पकालिन भिक्षुहरुको समय सकिनेछ ।
लुम्बिनीमा एकैदिन ५ सय जनाले लिए प्रवज्या

Share