वज्रवाराही कसरी बौद्ध तिर्थस्थल ?

काठमाडौँ उपत्यका भित्र रहेका कतिपय धार्मिक स्थलहरु अहिले खासगरी हिन्दु धर्मसँग सम्बन्धित तिर्थस्थलहरु जस्तो देखिन्छ । तर यी यस्ता तीर्थस्थलहरु कुनै समय बौद्ध मार्गीहरुका लागि पनि महत्वपूर्ण रहेका थिए । नेपालमा विभिन्न शासनकाल परिवर्तन हुने क्रममा अतिक्रमणको चपेटामा परेका यी बौद्ध सम्पदाहरु प्रति यहाँका बौद्धमार्गीहरुको आस्था र विश्वास भने उस्तै रहँदै आएको छ । आज हामी यस्तै एक तिर्थस्थलको बारेमा जानकारी दिन गइरहेका छौ, जुन एक प्रशिद्ध हिन्दु तिर्थस्थलका रुपमा परिचित छ । तर यो तिर्थस्थल बौद्ध धर्मावलम्वीका लागि पनि निकै महत्वपूर्ण छ । ललितपुरको चापागाउँमा रहेका वज्रवाराही भन्ने बित्तिकै धेरैले एक प्रशिद्ध हिन्दु तिर्थस्थल भन्ने सोच्छन् । तर वज्रवाराही प्रति बौद्ध धर्मावलम्वीहरुको पनि निकै ठूलो श्रद्धा र आस्था रहेको छ ।

वज्रवाराहीलाई वज्रयानी देवताको रुपमा वज्रयान बौद्धमार्र्गीले पूजाआजा गर्दै आइरहेका छन् । वज्रयानमा वज्रवाराहीलाई हेरुकचक्र सम्वरकी स्त्री शक्ति मानिएको छ । हेरुकचक्र सम्वर र वज्रवाराहीको संयोगलाई प्रज्ञोपायको रुपमा लिएमा यी देवी प्रज्ञाको प्रतिकध हुन्छिन् । वज्रवाराही बौद्ध धर्ममा डाकिनीको स्वरुप पनि हुन् । डाकिनी प्रकृतिको सर्वाधिक उग्र शक्ति पनि हो । डाकिनी नदि किनार, सरोवर, तन्त्र पीठ, एकान्त साधना स्थलमा विचरण गर्ने र अध्यारोमा बस्न रुचाउछिन् ।

बौद्ध धर्मको वज्रयान सम्प्रदायमा डाकिनीलाई तन्त्र शक्तिको प्रशिद्ध देवीको रुपमा मानिदै आएको छ । वज्रवाराही देवीलाई योगिनीको रुपमा पनि लिने गरिन्छ । बौद्ध र हिन्दू दुवै धर्मको प्रतिनिधित्व हुने गरी पुजिने देवी भएकीले ‘बज्रबाराही’ भनिन गएको हो । बज्रयान अति नै प्रभावशाली भएको समय नवौंदेखि बाह्रौं शताब्दीसम्ममा उपत्यकामा बज्रवाराहीको स्थापना भएको विश्वास गरिन्छ । त्यस्तै कतिपयले ‘बराह’को स्त्रीलिंगी रूप बाराही, स्त्रीदेवीको कल्पना ऐतिहासिक रुपले छैठौं–सातौं शताब्दीतिर भएको पनि विश्वास गर्छन् ।

यता हिन्दु धर्मावलम्वीले भने वज्रवाराहीलाई अष्टमातृका वाराही देवीको रुपमा पुज्दै आएका छन् । दैत्य रक्तवीजलाई मार्नका लागि देवी दुर्गाबाट अष्टमातृकाको सिर्जना गरेको कुरा हिन्दु धर्मशास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । तर पछिल्लो समय वज्रवाराहीको वज्रयान बौद्ध सम्बन्धी विषय धेरैलाई थाहा नहुदाँ यो तिर्थस्थल बौद्धमार्गीका लागि पनि महत्वपूर्ण छ भन्ने कमैलाई थाहा पाउने गरेका छन् । त्यसैले बौद्धमार्गीहरुले यस स्थानको महत्वलाई प्रवद्र्धन गरेको खण्डमा यो स्थान एउटा उत्कृष्ट बौद्ध तिर्थस्थल बन्ने निश्चित छ ।

Share

Related posts

Leave a Comment