जीर्ण बन्दै बुद्ध जन्मस्थल मायादेवी मन्दिर

नेपालको प्रमुख धार्मिक गन्तव्य हो लुम्बिनी । र लुम्बिनीको मुख्य आकर्षण हो मायादेवी मन्दिर । जुन स्थानमा शान्तिका अग्रदूत गौतबुद्धको जन्म भएको थियो । तर आज तिनै गौतम बुद्धका जन्मस्थल जीर्ण बन्दै गएको छ भने प्रख्यात मायादेवीको मन्दिरमा पानी नै चुहिन थालेको छ । बौद्धमार्गीको आस्था र लाखौं पर्यटक गन्तव्य मायादेवीको मन्दिर जीर्ण बन्दा पुरातात्विक वस्तुहरु नासिँदै जाने खतरा बढेको छ । २०६० सालमा मन्दिर पुननिर्माण गरिए पनि दुई दशक नपुग्दै समस्या देखिएको हो । यसबीचमा दुईपटक मन्दिरको छतलाई वाटरप्रुफिङ गरिए पनि त्यसले लामो समयसम्म काम गर्न सकेन । जसले गर्दा बुद्ध जन्म स्मारक शिला अर्थात मार्क स्टोन, इशापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका इँटाका भग्नावशेषहरु, मायादेवीको मूर्तिलगायत महत्वपूर्ण प्राचीन वस्तुहरु क्षयीकरण हुने जोखिम बढ्दो छ ।

पुरातात्विक सम्पदामा कंक्रिट र छड प्रयोग गरिँदैन । मन्दिरको छत ढलानदेखि वालसम्म सुर्खी र चुन प्रयोग गरिएको थियो । तर त्यसको प्रयोगमा अब्बल प्राविधिक जनशक्ति नहँुदा समस्या आएको जानकारहरुको अनुमान छ । मन्दिरलाई जीर्णोद्वार गर्ने चर्चा नभएको पनि होइन । पुरातत्व विभाग, युनेस्कोसमेतको सहकार्यमा मन्दिर मर्मतको तयारी भइरहेको छ । यसका लागि एक वर्षअघि थालल्यान्डको एक संस्थासँग सहमति भए पनि अझै काम सुरु हुन सकेको छैन ।

६ वर्ष अघि जापान सरकारको सहयोग र युनेस्कोको संयोजनमा इटालीका रसायनविद् कन्स्ट्रयांक किनो मियुसीले मायादेवी मन्दिरभित्र रहेका सम्पदा खिइँदै जान थाल्नुको कारणबारे अध्ययन गरेको थियो । त्यसबेला मायादेवी मन्दिर रहेको स्थानको जमिनमुनिको पानीमा नुनको मात्रा बढी भएको पाइएको थियो । त्यसपछि विकास कोषले मन्दिर परिसरमा रहेको जमिनको सतहको पानीको लेबल घटाउन मन्दिरको चारैतिरका इनारहरुबाट पानी जम्मा गरेर बाहिर फाल्दै आएको छ ।

धार्मिक पर्यटन प्रवद्र्धनको सरकारी नारा सधै सुनिने गर्छ । तर भगवान बुद्धको जन्मस्थलप्रति राज्यले समुचित ध्यान दिन सकेको छैन । भौतिक पूर्वाधार सुधार र पुरातात्मिक बस्तुहरुको संरक्षणका लागि तीनै तहका सरकारले विशेष कार्ययोजना ल्याउन जरुरी छ ।

Share

Related posts

Leave a Comment