ल्हाक्पा शेर्पा
सोलुखूम्बुमा विश्व शान्ति तथा सम्पूर्ण मानव प्राणी जगतको हितका लागि आयोजना गरिएको बज्रगुरु मन्त्र जप अहिले जारी छ । बज्रगुरु मन्त्रजप यही शनिवारदेखि सुरु भएको हो । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा मेन्दोपाकेस्थित मेन्दोपाके नामडोल छोलिङ गोन्पामा भइरहेको कार्यक्रममा १ करोड पटक बज्रगुरु मन्त्र जप गरिनेछ ।

बज्रगुरु मन्त्र जप जेठ १६ गतेसम्म सञ्चालन हुने खेन्पो लेप्टुप शेर्पाले बताए । मन्त्रजप गर्दा आफ्नो मन (चित्त) शुद्ध भई सवै प्रकारको पुण्य लाभ प्राप्त हुने बौद्ध धर्मावलम्बीको विश्वास रहेको छ । बुद्ध र बोधिसत्वको मन्त्र जप गर्नाले मन शुद्ध हुनुका साथै बुद्धत्व प्राप्त हुने समेत विस्वास रहेका कारणले सहभागि बनेको स्थानीय तेन्जी शेर्पाको भनाई छ ।

कार्यक्रममा ४ सयभन्दा बढि लामाले मन्त्र जप गरिरहेका छन् । जेठ १३ गते अवतारी लामा जट्टु रिन्पोछेले अभिषेक गराउने कार्यक्रम रहेको छ । सो दिन ३ देखि ४ हजारसम्म मानिस आउन सक्ने आंकलन गरिएको छ ।



