बौद्धमार्गीको हलेसी

बौद्ध धर्मगुरु पद्मसम्भवले ध्यान–तपस्या गरेको सम्मानित ठाउँ हो– हलेसी । त्यसैले बौद्ध धर्मावलम्बीले हलेसी गुफालाई मारातिका भनेर पुकार्ने गर्छन् । ‘मारातिका भनेको मृत्युबाट मुक्ति हो,’ मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा प्रमुख खेन्पो कर्म वाङ्चुक शेर्पा प्रस्ट्याउनु हुन्छ, ‘गुरु पद्मसम्भवले हलेसी गुफामा तपस्या गरी मृत्युबाट मुक्ति पाएकाले हलेसी गुफालाई मारातिका भनिएको हो । खासमा अमरातिका हो । बोलीचालीको भाषामा ‘अ’ लोप भएकाले मारातिका भन्न थालियो ।’

सातौँ शताब्दीको अन्त्यतिर पद्मसम्भव र मन्दरादेवी (पद्मसम्भवकी श्रीमती)ले हलेसीमा तीन महिना साधना गरेका थिए । तीन महिना साधना गर्दा उनीहरूले मृत्युबाट मुक्ति अर्थात् कहिल्यै जन्मनु र मर्न नपर्ने भयो । पहिल्यै अस्तित्वमा रहे पनि पद्मसम्भवले मृत्युबाट मुक्ति पाएको सन्देश प्रवाह हुँदै गएपछि बौद्ध धर्मावलम्बी हलेसी बाक्लै आउन थाले । यो क्रम जारी छ । उनीहरूले हलेसी गुफामा रहेको शिवलिङ्गलाई ‘धर्मपाल’ र पार्वतीथानलाई ‘आयुकलश’ मान्दै आएका छन् ।

विश्वमै बौद्ध धर्मसम्बन्धी प्रमुख छवटा तीर्थ छन् । त्यसमध्ये मातारिका (हलेसी गुफा)लाई पनि एक मानिएको छ । त्यस अर्थमा बौद्ध धर्मावलम्बीका लागि हलेसी अत्यन्तै सम्मानित ठाउँ हो । हलेसी गुफाको प्रवेशद्वारमै दायाँपट्टि मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा निर्माण गरिएको छ । संवत् २०३७ मा लामा ङवाङ छोफेल ग्याछोले गुम्बा निर्माण गर्नुभएको हो । संवत् २०७३ मा पुनःनिर्माण गर्ने भन्दै पुरानो भत्काएर भव्य गुम्बा निर्माण गरिएको छ । बौद्ध शिक्षा पढाइने गुम्बामा शाक्यमुनि गौतम बुद्ध, पद्मसम्भव र अवलोकितेश्वरलगायतका मूर्ति रहेका छन् ।

बौद्ध धर्मावलम्बीले पद्मसम्भवलाई दोस्रो बुद्धका रूपमा सम्मान गर्छन् । उनै सम्मानित धर्मगुरुको नाममा हलेसीमा पद्मसम्भवको प्रतिमासहितको पार्क बन्दै छ । प्रतिमासहितको पार्क निर्माणपछि विश्वकै बौद्ध धर्मावलम्बी हलेसी पुग्न आकर्षित हुनुका साथै सालिन्दा दसौँ लाख बौद्ध धर्मावलम्बीमात्रै हलेसी पु¥याउन सकिने नेपाल बौद्ध महासङ्घले जनाएको छ । गोरखापत्रमा प्रकाशित

Share

Related posts

Leave a Comment