उपेक्षामा बुद्धभूमि, ४३ वर्ष बित्दा पनि पुरा भएन लुम्बिनी विकास गुरुयोजना

विश्वमा नेपालको नाम र सुवास छरेको भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनी कुन हदसम्म उपेक्षाको शिकार बनेको छ भन्ने प्रमाणको पुष्टि लुम्बिनी विकास गुरुयोजनाले गर्दै आएको छ । गुरुयोजना सुरु भएको ४३ बर्ष विते र १० अर्ब भन्दा बढी रकम पनि खर्च भइसक्यो । तर आयोजनाको काम कहिले पूर्ण हुने हो अझै अन्यौल छ । हरेक बर्ष बुद्ध जयन्तीको दिन गुरुयोजना अब पूरा गर्छौ भनेर सरकारका मन्त्रीहरुले भाषण फलाक्छन् । तर अवस्था जहिले जहिले पनि उस्तै छ ।

सन् १९७८ मा लुम्बिनी क्षेत्रको संरक्षण र योजनाबद्ध विकास गर्न भन्दै लुम्बिनी गुरुयोजना शुरु गरिएको थियो । जापानिक बास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले बृहतर लुम्बिनीको विकास गर्न भन्दै गुरुयोजनाको खाका तयार गरी सरकारलाई दिएका थिए । सो गुरुयोजना १४ वर्षमा सक्ने लक्ष्य भए पनि सरकार र लुम्बिनी विकास कोषको प्रतिबद्धता र जिम्मेवारीबोध अभावको कारण गुरुयोजना अझै सम्पन्न हुनसकेको छैन ।

गुरुयोजनामा अहिलेसम्म १० अर्ब भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । तैपनि गुरुयोजनाको अझै २० प्रतिशत काम बाँकी नै छ । यसका लागि ७ अर्ब रुपैयाँ थप आवश्यक पर्छ । सरकारले आगामी आर्थिक वर्षका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसपटक सरकारबाट पर्याप्त बजेट दिने प्रतिबद्धता आएकाले गुरुयोजना आगामी दुई वर्षमै सकिने कोषको दावी छ ।

केही समय अघिमात्रै कोषले अर्थ मन्त्रालयबाट चार अर्बका चारवटा बहुवर्षीय ठेक्काको अनुमति पाएको छ । जसमा १४ किलोमिटर मुख्य सडक, भित्री सडक २२ किलोमिटर, ५२ किलोमिटर ढल निर्माण, हरियाली, विद्युतीकरण र १२ वटा गेट निमार्ण हुनेछन् । अनुमतिपछि ठेक्का प्रक्रिया शुरु भएको छ । वास्तुकलाविद् टाँगेले बनाएको गुरुयोजना अनुसार १ हजार एक सय ५५ बिघा क्षेत्रफलमा पवित्र उद्यान, मोनाष्ट्रिक जोन र न्यु लुम्बिनी भिलेजका रुपमा लुम्बिनीको विकास गरिने योजना छ । नेपाल सरकार, विभिन्न दातृ निकाय र संघसंस्थाहरुले लुम्बिनीमा अर्बौँ लगानी गरेका छन् । तर, हरेक वर्ष गुरुयोजना पूरा गर्ने बताउँदै आएको सरकारले यसलाई मूर्तरुप भने दिन सकेको छैन । नेपाललाई चिनाउने पर्यटकीय केन्द्र गौतम बुद्धको जन्मस्थलको विकासका नाममा सञ्चालित गुरुयोजनाको यो हविगतले अन्तर्राष्ट्रिय क्षेत्रमै ढिलासुस्तीको चरम नमुना प्रस्तुत गरेको छ ।

Share

Related posts

Leave a Comment