एक दिन गौतम बुद्धको शरणमा एउटा युवक अति नै दुःखी हुँदै आएछ। अनि बुद्धले सोध्नुभएछ, “के भयो?”
त्यस युवकले भने, “हजुर, हिजो मेरा पिताको मृत्यु भयो । त्यसैले आज हजुरसँग एउटा अनुरोध गर्न आएको, जब कुनै साधारण पुजारीले अन्तिम संस्कार गर्दछ, तब आत्मा स्वर्गमा पुग्ने मौका पाउँदछ । हजुर त महान् हुनुहुन्छ, हजुर जस्तोले मेरा पिताको संस्कार गरिदिनुभयो भने, उहाँले स्वर्गमा पुग्ने मौका मात्र होइन सायद स्वर्गमै सदा बस्ने मौका पाउनुहुन्छ होला । त्यसैले प्रभु ! बिन्ती छ, मेरा पिताको लागि यत्ति गरिदिनुहोस् ।
युवक अति नै दुःखी अवस्थामा थिए, अति भावुक भएका थिए । बुद्धलाई थाहा थियो कि कुनै तर्कसङ्गत कुरा गरेर ऊमाथी कुनै असर पर्थेन । तर बुद्धसँग पनि कुनै कुरालाई बयान गर्ने आफ्ने कला थियो । त्यसपछि उनले त्यस युवकलाई बजारमा गएर दुईवटा माटाको घैँटा ल्याउन आग्रह गरे ।
युवक पनि खुसी हुँदै घैँटा किन्न गए, यो सोँचेर कि अब बुद्धले कुनै किसिमको विशेष संस्कार गर्नेछन् । दुईवटा घैँटा किनेर ल्याएपछि बुद्धले त्यस युवकलाई एउटा घैँटोमा घ्यू र अर्कोमा साना साना घैँटा राख्न भने । युवकले पनि त्यसै गरे । बुद्धले उनलाई ती घैँटाहरूलाई राम्ररी बन्द गरेर नजिकैको पोखरीमा लगेर राख्न भने । युवकले पनि त्यसै गरे र दुवै घैँटो पोखरीमा डुब्यो । त्यसपछि बुद्धले उनलाई एउटा मोटो लठ्ठी ल्याएर ती घैँटाहरूलाई फुटाउन लगाए । उनले पनि बुद्धले भनेजस्तै गरे ।
युवकले बुद्धले भनेअनुसार ती दुई माटाको घैँटालाई फुटाले । फुटाल्ने बित्तीकै एउटा घैँटोको घ्यू पोख्खिएर पानीमा तैरियो भने अर्को घैँटोका ढुङ्गाहरू चाहिँ पानीभित्रै रहिरह्यो ।
अब बुद्धले शान्त हुँदै भने, “मैले यत्ति गरिदिएँ । अब तिम्रा पुजारीहरूलाई बोलाउ र प्रार्थना गर्न लगाउः ‘हे ढुङ्गा, तिमी तैरियौ, हे घ्यू, तिमी पानीमा डुब!’
त्यसपछि युवकले अचम्म मान्दै भने, “मैले बुझिन भगवान । यो कसरी सम्भव छ ? यो त सरासर प्रकृतिको नियम विरुद्ध हो । ढुङ्गा पानीभन्दा गह्रौँ हुन्छ, त्यसैले डुब्छ, तैरिन सक्दैन । घ्यू पानीभन्दा हलुङ्गो हुन्छ, त्यसैले तैरिन्छ, त्यसलाई डुबाउन सकिँदैन।”
“हे युवक ! तिमीले प्रकृतिको नियमको बारेमा यत्रो कुरा बुझेका रहेछौ, फेरि पनि सबैको लागि लागू हुने नियमको बारेमा बुझ्न चाहँदैनौँ । यदि तिम्रा पिताले ती ढुङ्गाको जस्तो कर्म गरेको भए, तल डुब्नु स्वाभाविक हो, कसले माथि लैजान सक्छ र ? यदि तिम्रा पिताले घ्यूको जस्तो व्यवहार गरेको भए, ऊ सँधै तैरिरहन्छ, कसले डुबाउन सक्छ र ?” बुद्धले भने ।
‘कर्मअनुसार हामीले फल पाउँछौँ’ भनेर हामीले जबसम्म बुझ्दैनौँ, तबसम्म हामीले सँधै निराशा अनि दुःख भोग्नुपर्ने हुन्छ । यो नै प्रकृतिको नियम हो, जुन हरेक प्राणीलाई लागू हुन्छ ।

