महायानी बौद्ध परम्पराको प्रमुख धार्मिक ग्रन्थको रुपमा लिइने दोमाङको नेपाली अनुवाद खेन्पो वागिन्द्र शील र गुहेश्वरी मानन्धरले गर्नु भएको हो । गौतम बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सुत्रको रुपमा देशना गर्नु भएको वचनहरुको संगालो हो दोमाङ एकदमै पवित्र मानिन्छ । भोट भाषामा रहेको दोमाङलाई बागिन्द्र शीलले नेपालीमा अनुवाद गरेपछि यसको महत्व र विशेषताको बारेमा नेपालभित्र अझ विशेष चर्चा हुन थालेको हो ।
२५ सय पृष्ठको अनुवादित दोमाङ ९ किलोग्राम वजनको रहेको छ । हाल अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका बेलायती सेनाका कप्तान विजय गुरुङले दोमाङ १० पटक पाठ गरी अहिले ११ औँ चरणमा पाठ गरिरहेका छन् । नेपालीमा अनुवाद भएपछि व्यक्तिगतरुपमा सबैभन्दा धेरै पाठ गर्नेमा गुरुङ पर्छन् ।




