कोरोना महामारीका कारण अहिले सम्पुर्ण विश्व नै आक्रान्त छ । विविध गतिविधि पूर्ववत अवस्थामा जस्तो नहुँदा अहिले धेरैतिर आर्थिक अभाव समेत देखिन थालेको छ । कोरोनाको असर धार्मिक क्षेत्रहरुमा समेत परेको छ । कोरोनाका कारण लामो समयदेखि जारी लकडाउनको असर गुम्बा तथा विहारहरुमा पनि देखिन थालेको छ । यसै सन्दर्भमा नेपाल बौद्ध संघले काठमाडौँ र काभ्रेका ८ गुम्बा तथा विहारलाई आर्थिक सहयोग गरेको छ ।
दक्षिणकाली, काठमाडौँ, काभ्रेका ८ गुम्बा तथा विहारलाई आज एक कार्यक्रमका बीच काठमाडौँको बौद्धमा करिब ७ लाख रुपैयाँ सहयोग अर्पण गरिएको छ । कोरोनाका कारण विभिन्न पूजापाठ तथा दाताहरुबाट सहयोग सहजरुपमा आउन नसकेका कारण परेको आर्थिक कठिनाईमा नेपाल बौद्ध संघको तर्फबाट सानो सहयोग प्रदान गरिएको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए ।
सहयोग रकम नेपाल बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष खेन्पो गेशे थुप्टेन जिक्डोलको हातबाट प्रदान गरिएको थियो । पछिल्लो विषम परिस्थितिमा संघले गरेको आर्थिक सहयोग निकै सकरात्मक भएको गुम्बा तथा विहारका प्रतिनिधिले बताए ।
नेपाल बौद्ध संघबाट सहयोग पाउने गुम्बा तथा विहार
- Nepal Buddhist Nunnery
- Azom Monastery
- Karma Ngedhon OCN
- Sharminub Institute
- Sangchen Rapten Norbuling
- Dhagpo Sheydrub
- Sherpa Gumba (UDC)
- Vishwa Shanti Vihara