भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि मन्त्रालयले जवाफ दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको सर्वत्र प्रमाणित भइसकेको उल्लेख गरिएको छ । बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने ऐतिहासिक र पुरातात्विक तथ्यहरु समेत रहेको र बौद्ध धर्मको उद्गम नेपाल रहेको भन्नेमा आशंका नरहेको उल्लेख गर्दै मन्त्राललयले लुम्बिनीलाई युनेस्कोले समेत विश्व सम्पदा सूचिमा सूचिकृत गरिसकेको भनेको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएको तथ्यलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले पनि स्वीकार गरेको मन्त्रालयले विज्ञप्तिमा स्मरण गराएको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसदमा बोल्दै बुद्ध जन्मभूमि नेपालले विश्वमा शान्ति फैलाउन प्रेरित गरेको भाषण गरेको पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसैले पनि नेपाल गौतम बुद्धको जन्मभूमि र बौद्ध धर्मको उद्गमस्थल भएकोमा सम्पुर्ण विश्व जगत नै सचेत भएको भन्दै मन्त्रालयले यो विषय आशंका र विवादको विषय नै नभएको भनेको छ ।
त्यस्तै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतीय विदेशमन्त्री जयशंकरले नेपालको लुम्बिनीमा जन्मिउका गौतम बुद्धलाई महान भारतीय भनेर तथ्यहीन प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत नेता नेपालले यस्तो आपत्ति जनाएका हुन् । नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले लेखेका छन्,‘भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ ।