भारतको गुजरात राज्यस्थित एउटा गाउँमा दलित समुदायका झन्डै तीन सय परिवारले हिन्दु धर्म त्यागेर बौद्ध धर्म अपनाएका छन् । धर्मपरिवर्तन गरेकामध्ये उनामा भएको कुटपिटको घटनाका पीडित पनि छन् । उनाको मोटा समाधियाला गाउँमा सन् २०१६ मा ’गोरक्षक’ का रूपमा आफूलाई चिनाउने मानिसहरूले वाश्रम सरवैया तथा उनका भाइलाई गाई मारेको आरोप लगाउँदै अर्धनग्न पारेर कुटपिट गरेका थिए । उक्त घटनापश्चात् गुजरातका दलितहरू आक्रोशित भए र उनीहरूले कैयौँ स्थानमा विरोधप्रदर्शन गरे ।
त्यसरी रुष्ट भएका कैयौँ मानिसहरूले आइतवार बौद्ध धर्म अङ्गीकार गरेका छन्। उनाका पीडितहरूले यसअघि नै आफ्ना परिवारले धर्म परिवर्तन गर्न लागेको घोषणा गरेका थिए । हिन्दु धर्ममा निरन्तर भेदभाव भोग्नुपरेको र राज्य सरकार आफूलाई कुनै पनि सहयोग नगरेको उनीहरूको आरोप थियो ।
सरवैया परिवारले नै आइतवारको कार्यक्रम आयोजना गरेको थियो। सो समारोहमा गुजरातका विभिन्न भागबाट आएका दलितहरू सहभागी भएका थिए । उना घटनापछि राष्ट्रिय स्तरमै चर्चा कमाएका जिग्नेश मेवाणीजस्ता दलित नेता भने उक्त समारोहमा उपस्थित भएनन् । बिबिसीबाट