२५६३ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो

२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको बौद्धमा पनि विभिन्न कार्यक्रमको गरिएको छ । बौद्ध धर्मावलम्वीले विशेष पूजापाठ, सांस्कृतिक झाँकी तथा र्याली गरेर बुद्ध जयन्ती मनाएका छन् ।

बौद्धमार्गी शेर्पा, तामाङ, गुरुङ तथा ह्योल्मो लगायतका समुदायका धर्मावलम्बी विहानैदेखि बौद्ध, चावहिल लगायतका स्थानमा रहेका स्तुपमा र्याली सहित पुगेका थिए ।

नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए । गौतम बुद्धका जीवनको मुख्य ३ घटना वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यो दिन बौद्धमार्गीका लागि अत्यन्तै महत्वपुर्ण दिन हो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी बुद्धत्वको खोजीमा हिडेका थिए ।

भारतको बोधगयामा ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रूपमा उनले विश्व प्रसिद्धि पाए ।

काठमाडौँको बौद्ध बाहेक स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना भएका छन् ।

बुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू नेपाल लगायत भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् ।

Share

Related posts